Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश जाने युवा बढ्दै, एक लाख बढीले लिए श्रम स्वीकृति

विदेश जाने युवा बढ्दै, एक लाख बढीले लिए श्रम स्वीकृति


काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा वृद्धि भएको छ । मुलुकमा पर्याप्त रोजगारी नहुनु तथा स्वदेशको श्रम बजारमा श्रमशक्ति बढ्नुले गर्दा युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यात्मक स्थिति छ । सोही कारण चालू आर्थिक वर्ष ०७८/०७९ को पहिलो त्रैमासिकमा एक लाख ११ हजार ३९ जना युवाहरुले विदेश जानको लागि भन्दै श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ९५ हजार सात सय १६ जना पुरुष र १५ नौ सय १३ जना महिलाले एक सय ४० भन्दा बढी मुलुक जाने भन्दै श्रम स्वीकृति लिएको विभागको भनाइ छ ।

नेपाली कामदारको लागि प्रमुख गन्तव्य मुलुकको रुपमा भने खाडीका छ राष्ट्र कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमान र मलेसिया रहेका छन् ।

गन्तव्य मुलुक र सयभन्दा बढी मुलुक जाने युवाहरु भने पछिल्लो महिनाहरुमा बढ्दै गएका छन् । असोजमा ३९ हजार छ सय ७१ जना (पुरुष ३७ हजार दुई सय आठ/महिला दुई हजार चार सय ६३), भदौमा ३६ हजार ४० जना (पुरुष ३४ हजार दुई सय १८/महिला एक हजार आठ सय २२) र साउनमा २५ हजार चार सय २८ जना (पुरुष २४ हजार दुई सय ९०/महिला ११ हजार छ सय २८) युवाहरुले विदेश जानको लागि विभिन्न श्रम कार्यालयमार्फत श्रम स्वीकृति लिएका छन् ।

सरकारले संघीयता कार्यान्वयनमा आएपछि श्रम कार्यालयको समेत विस्तार गरेको थियो । जसले गर्दा श्रम स्वीकृति लिनको लागि काठमाडौं आउनुपर्ने केन्द्रीकृत सेवा विकेन्द्रीकरण भएको थियो । हाल वैदेशिक रोजगार कार्यालय ताहाचल (काठमाडौं), पोखरा बुटवल, सुर्खेत र जनकपुरधामबाट विदेश जाने युवाहरुलाई श्रम स्वीकृति प्रदान गरिन्छ ।

कोभिड १९ विरुद्धको खोप सहज बनेसँगै नेपालीहरुको लागि विदेश खुला गरिएको हो । कोभिडका निश्चित मापदण्डसहित खाडी, मलेसिया, दक्षिण कोरिया, इजरायललगायतका मुलुकले नेपाली कामदार लैजान थालेका छन् । तथा केही प्रक्रियामा रहेको छ । यसरी विदेश जान सहज वातावरण रहे पनि अदक्ष कामदार जाने शृंखलाबाट भने हामी मुक्त हुन सकेका छैनौं ।

श्रम स्वीकृति लिएकामध्ये कति युवाहरु विदेश जान्छन्, त्यो निश्चित छैन । तर श्रम स्वीकृति लिनेमध्ये ठूलो संख्यामा भने अदक्ष (सीप नभएका) युवाहरु रहेको विभागको अधिकारीहरुको भनाइ छ ।

असोजमा २२ हजार पाँच सय ५० जना अदक्ष, १४ हजार ३६ जना दक्ष, तीन हजार ५१ जना अर्धदक्ष, २३ जना व्यावसायिक र ११ जना उच्च सीपयुक्त युवाहरुले विदेश जानका लागि श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ । यस्तै विभागका अनुसार भदौमा १९ हजार सात सय नौ जना अदक्ष, १३ हजार छ सय २५ जना दक्ष, दुई हजार छ सय ७१ जना अर्धदक्ष, २७ जना व्यावसायिक र आठ जना विज्ञले विदेश जानका लागि युवाहरुले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका युवाहरु आफ्नै प्रयासमा विदेश गएर आएका, पहिलोपटक श्रम लिएका, श्रम नलिई विदेश गएका र पछि श्रम लिएका तथा नयाँ श्रम स्वीकृति लिने युवाहरु रहेका छन् ।

पछिल्लो समय भने नेपाली कामदारको लागि आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियाको रोजगारी समेत खुला भएको छ । पहिलो चरणमा ४८ जना युवाहरु गत साता कोरिया समेत उड्का छन् । यस्तै अब सम्पूर्ण प्रतिबद्ध कामदारको लागि कोरिया खुला भएको तथा भाषा पास गरेर बसेका युवाहरुलाई समेत पठाउने प्रयास भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव डण्डुराज घिमिरले आर्थिक दैनिकलाई बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया