Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमय् फल्चा भत्काउन माग गर्दै सुरेन्द्र भण्डारीले हाले जिल्ला अदालतमा मुद्दा

समय् फल्चा भत्काउन माग गर्दै सुरेन्द्र भण्डारीले हाले जिल्ला अदालतमा मुद्दा

नेवार समुदाय आक्रोशित


काठमाडौँ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ललितपुरवासीको ऐतिहासिक सम्पदा भत्काउन अदालतमा मुद्दा दायर गरेका छन् । २०६ वर्ष पुरानो ऐतिहासिक समय् फल्चा भत्काइपाऊँ भन्दै उनले जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका हुन् । समय् फल्चाको भग्नावशेषमाथि अवैध रुपमा निर्माण भएको भवनमा सञ्चालित सहकारीले आफ्नो भवन समेत मापदण्डविपरीत निर्माण गरेको थियो ।

ललितपुर महानगरपालिकाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको आदेश तथा फैसलाअनुसार निर्माण गरेर सम्पन्नको चरणमा रहेको फल्चा भत्काउन उनले अदालतमा मुद्दा दायर गरेका हुन् ।

आश्चर्य त के भने उक्त फल्चा निर्माणको विरोधमा रहेको वडा नम्बर ३ लाई उनले विपक्षी बनाएका छन् । फल्चा निर्माण गर्न हुन्न भन्ने पक्षमा वडा नम्बर ३ का वडाध्यक्षले वकालत गर्दै आएका छन् । सम्पदा निर्माणमा क्रियाशील मेयर चिरिबाबु महर्जनको सक्रियतामा समय् फल्चाको करिब ९० प्रतिशत निर्माण सम्पन्न हुँदै छ ।

भण्डारीले फल्चा निर्माणका लागि महानगरपालिकाले बजेट विनियोजन गरेदेखि नै विभिन्न सरकारी निकायको दुरुपयोग गर्दै आएका छन् । यसअघि जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा समेत उनले झूटो निवेदन दायर गरेका थिए । तर, सबैजसो अड्डा अदालतमा उनको झूट पराजित हुँदा पनि उनले फेरि जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

भण्डारीले दायर गरेको मुद्दामा आगामी मंसिर १० गतेलाई छलफलमा झिकाउन जिल्ला अदालत ललितपुरका न्यायाधीश ऋषिराम निरौलाको इजलासले आदेश दिएको छ ।
२०६ वर्षभन्दा पुरानो ऐतिहासिक समय् फल्चाको भग्नावशेषमाथि श्री लालीगुराँस सहकारीले स्वीकृत नक्सा र मापदण्डविपरीत भवन बनाएको थियो । ललितपुर महानगरपालिकाले फल्चा निर्माणको लागि बजेट विनियोजन गरेपछि सहकारी र महानगरपालिकाबीच विवाद भएको थियो ।

हाल तीनै तहका अदालतको आदेश तथा फैसलाबाट ऐतिहासिक समय् फल्चा निर्माणकार्य सम्पन्न हुने तयारीमा छ ।भण्डारीले फल्चा भत्काउन मुद्दा दायर गरेपछि ललितपुरका नेवार समुदाय फेरि आक्रोशित बनेका छन् । उनले ललितपुरमै सहकारी सञ्चालन गरेर त्यहाँकै नेवार समुदायको बचत रकम दुरुपयोग गरी सोही क्षेत्रका नेवार समुदायको सम्पदाविरुद्ध भण्डारीको गतिविधि खेदजनक भएको एक अधिकारकर्मीले आर्थिक दैनिकलाई बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया