Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘रासायनिक मलसम्बन्धी समस्या छिट्टै समाधान हुन्छ’

‘रासायनिक मलसम्बन्धी समस्या छिट्टै समाधान हुन्छ’


रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटै समाधान गर्ने बताएका छन् । रूपन्देहीको मर्चवार मन्दिर दर्शनपश्चात् भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाणले रासायनिक मल छिटोभन्दा छिटो उपलब्ध गराउने बताएका हुन् ।

गृहमन्त्री खाणले सरकारले कृषि र शिक्षालाई बढावा दिनेगरी काम गरिरहेको पनि जानकारी दिए । ‘हामीले रासायनिक मल आयातमा देखिएको समस्या समाधानको प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘केही समयमा मल उपलब्ध हुन्छ । त्यस्तै कोटहीमाईमा प्राविधिक शिक्षालय निर्माण गर्ने, सडक, खानेपानी र बिजुलीलगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’ यस्तै उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताए । सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैँचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज पूरा देश जेगिन पुगेको गृहमन्त्री खाणको भनाइ थियो ।

नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको उनले बताए । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको उनले उल्लेख गरे । यस्तै गृहमन्त्री खाणले हरेक नेपालीको जीवन रक्षा गर्नु नेपाल सरकार र नेपाली कांग्रेसको पहिलो लक्ष्य रहेको बताए ।

यसैगरी उनले विसं २०४८ सालभन्दा पहिला विकासको गति धेरै न्यून रहे पनि ०४८ साल बहुदलीय व्यवस्था आएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले व्यवस्थित तरिकाले अर्थतन्त्रलाई उठाउने काम गरेको दाबी गरे । भैरहवा–काठमाडौँ विमान सेवा हप्तामा दुई पटक मात्र सेवा दिने अवास्थाबाट नेपाली कांग्रेसले विभिन्न किसिमका संघर्ष गरी दैनिक सञ्चालन गर्ने व्यवस्थापन गरेको उनको भनाइ थियो । यस्तै उनले मर्चवार मन्दिर निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । गृहमन्त्री खाणसँग रूपन्देही ४ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद प्रमोद यादव लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँ र लुम्बिनी प्रदेश सांसद अष्टभुजा पाठक सहभागी थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया