Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच महिनाको मुलुकको अर्थतन्त्र

पाँच महिनाको मुलुकको अर्थतन्त्र

  व्यापारघाटा सात खर्ब ३५ अर्ब


काठमाडौं । सरकारले अतिआवश्यक वस्तुबाहेकका अन्य वस्तुुहरुको आयातमा कडाइ गरेसँगै मुुलुकको वैदेशिक व्यापारमा केही सकारात्मक संकेतहरु देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पाँच महिनाको प्रतिवेदनअनुसार मुुलुकको निर्यात व्यापार बढेको छ भने आयातमा केही कमी आएको छ । सोही आधारमा मुुलुकको वैदेशिक व्यापार घाटामा पनि विगतको तुलनामा केही सुधार देखिएको छ ।

प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा कुल वस्तुनिर्यात एक सय पाँच दशमलव छ प्रतिशतले बढेर एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात पाँँच दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ३८ प्रतिशत र २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात एक दशमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढे पनि अलैँची, चिया, जस्तापाता, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार चालू आवको पाँच महिनामा कुल वस्तु आयात ५९ दशमलव पाँच प्रतिशतले बढेर आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नौ दशमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४ दशमलव चार प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र एक सय ११ दशमलव दुई प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्तीलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ । निर्याततर्फ कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा कुल वस्तु व्यापारघाटा ५४ दशमलव सात प्रतिशतले बढेर सात खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १० दशमलव नौ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव पाँच प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोडबराबरको भएको थियो ।

चालू खाता तीन खर्ब रुपैयाँले घाटामा
चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा चालू खाता तीन खर्ब ६९ करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा दुई अर्ब ५२ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर दुई दशमलव चार प्रतिशतले कमी आई चार अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७ प्रतिशतले वृद्धि भई सात अर्ब सात करोड पुगेको छ ।

Open photo

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५० करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब छ अर्ब ४८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ६४ करोडले घाटामा रहेको छ ।

विदेशी मुद्रा सञ्चितिमा १३ प्रतिशत गिरावट
विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव दुई प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब तीन करोड रुपैयाँ कायम भएको छ ।

Open photo

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४ दशमलव सात प्रतिशतले कमी आई १० अर्ब तीन करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२ दशमलव नौ प्रतिशतले कमी आई १० खर्ब ८४ अर्ब ६४ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १६ दशमलव दुई प्रतिशतले कमी आई एक खर्ब २९ अर्ब ४० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दशमलव एक प्रतिशत रहेको छ ।

खुद सेवा आय ३८ अर्ब ५२ करोडले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा खुद सेवा आय ३८ अर्ब ५२ करोडले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय दुई सय ३९ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई अर्ब ३२ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय एक सय सात प्रतिशतले वृद्धि भई २३ अर्ब ८३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १३ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ११ अर्ब ५१ करोड रहेकोमा शिक्षातर्फको व्यय नौ अर्ब ८१ करोेड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

पाँच महिनामा भित्रियो तीन खर्ब ८८ अर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले कमी आई तीन अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव चार प्रतिशतले बढेकोे थियो ।

Open photo

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२ दशमलव सात प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ९५ दशमलव आठ प्रतिशतले वृद्धि भई ९९ हजार पाँच सय ८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७ दशमलव तीन प्रतिशतले घटेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया