प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’
जनकपुरधाम । प्रदेश दुईको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम भएको छ । प्रदेशसभा सञ्चालन भएको चार वर्षपछि सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी टुंगो लागेको हो ।
प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको हो । प्रदेशको नाम मधेश राख्न सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्तरूपमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको पक्षमा बैठकमा उपस्थित भएका ९९ मध्ये ८० जना प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । उक्त संख्या प्रदेशसभामा रहेको कुल एक सय सदस्यमध्ये दुई तिहाइ बढी मत भएको भन्दै मधेश प्रदेशको प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे । मधेश प्रदेशसम्बन्धी प्रस्ताव पारित भएपछि प्रदेशको नामसम्बन्धी अन्य प्रस्तावहरू स्वतः निष्क्रिय भएको सभामुख यादवले घोषणा गरे ।
हाल प्रदेश नं २ को प्रदेशसभामा एक सय चार जना सांसद रहेकामा कुनै पनि प्रस्ताव पारित हुन दुई तिहाइ अर्थात् ७० मत आवश्यक पर्छ । प्रदेश नं २ का नामका लागि मधेश प्रदेशसँगै जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता गरिएको थियो ।
यस्तै, प्रदेशको राजधानी जनकपुरधाम कायम हुने प्रस्ताव पनि दुई तिहाइले पारित भएको छ । सोमबार नै प्रदेशसभामा भएको जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको संयुक्त प्रस्ताव दुई तिहाइ बढी मतले पारित भएको हो । हाल कायम रहेको एक सय चार प्रदेशसभा सदस्यमध्ये ९९ मत खसेको थियो । जसमा ७८ मत जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावको पक्षमा खसेको र उक्त संख्या दुुई तिहाइभन्दा बढी भएकाले जनकपुरधाम राजधानी कायम भएको सभामुख यादवले घोषणा गरे ।
जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको उल्लेख छ । दोस्रो पटकको प्रयासमा प्रदेशको नाम र राजधानीको टुंगो लागेको हो । यसअघि २०७६ साल चैत ३ मा मतदान हुँदा पनि नाम र राजधानी तोकिन सकेको थिएन । दुवै प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि नाम र स्थायी राजधानीको प्रस्ताव असफल भएको थियो ।
लामो समयसम्म प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसक्दा मुख्यमन्त्री लालबाबु राउतको चौतर्फी आलोचना हुँदै आएको थियो । प्रदेशको नाम र राजधानी टुंगो लागेसँगै मधेश आन्दोलनको भावना, मधेशीको चाहनाअनुसारको उपलब्धि हासिल भएको महसुस गरेको मुख्यमन्त्री राउतले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया