Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२६ बैंकले छ महिनामा कमाए ३३ अर्ब ४६ करोड

२६ बैंकले छ महिनामा कमाए ३३ अर्ब ४६ करोड

वाणिज्य बैंकहरुमध्ये सिभिल बैंकको नाफा सबैभन्दा कमजोर


काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २६ वटाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३३ अर्ब ४६ करोड ७५ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा तीन अर्ब चार करोड ७५ लाख ३१ हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने बैंकहरुको यस्तो नाफा ३० अर्ब ४२ करोड ६४ हजार रुपैयाँ रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासिकमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक परेको छ भने सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक परेको छ । खुद मुनाफा आर्जनमा एनआईसी एसिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक भने क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा पर्न सफल भएका छन् । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमध्ये तीनवटा बैंकको नाफा दुई अर्ब रुपैयाँभन्दा माथि देखिएको छ भने १३ वटा बैंकहरुको नाफा एक अर्ब रुपैयाँभन्दा माथि देखिएको छ । यीबाहेक १० बैंकहरुको नाफा भने एक अर्ब रुपैयाँभन्दा तल देखिएको छ । जसअनुसार ग्लोबल आईएमई बैंकले चालू आवको दोस्रो त्रैमासिकमा दुई अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने ग्लोबलको यस्तो नाफा दुई अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ छ । एनआईसी एसियाले पनि चालू आवको पछिल्लो छ महिनामा दुई अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एनआईसी एशियाको यस्तो नाफा दुई अर्ब छ करोड पाँच लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

नबिल बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा दुई अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा दुई अर्ब एक करोड ६० लाख २३ हजार रुपैयाँ रहेको थियो । चालू आवको दोस्रो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ९१ करोड ९५ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनएमबी बैंकले एक अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ७४ करोड ८८ लाख ५९ हजार र एक अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ रहेको थियो । प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ र कृषि विकास बैंकले भने पछिल्लो छ महिनामा क्रमशः एक अर्ब ६७ करोड ८५ लाख ८९ हजार, एक अर्ब ६२ करोड ४३ लाख २४ हजार, एक अर्ब ५७ करोड ७३ लाख १३ हजार र एक अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।

गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ८१ करोड ३३ लाख २९ हजार, एक अर्ब ५८ करोड ६६ लाख नौ हजार, ९१ करोड ८७ लाख ४० हजार र एक अर्ब ३२ करोड १६ लाख ८८ हजार रुपैयाँ रहेको थियो । चालू आवको दोस्रो त्रैमासिकमा नेपाल बैंकले एक अर्ब ४१ करोड ७० लाख ५८ हजार, मेगा बैंकले एक अर्ब ३९ करोड ९९ लाख ९१ हजार, प्रभु बैंकले एक अर्ब २६ करोड २० लाख १० हजार र सिटिजन्स बैंक इन्टरनेशनलले एक अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ३५ करोड चार लाख २३ हजार, एक अर्ब ३० करोड ४४ लाख ७१ हजार, एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार र ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे र सानिमा बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः एक अर्ब आठ करोड ६७ लाख ७० हजार, एक अर्ब एक करोड आठ लाख ३० हजार र एक अर्ब सात करोड ७० लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुले क्रमशः ७२ करोड ७६ लाख ३९ हजार, ८० करोड २७ लाख ७४ हजार र एक अर्ब छ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । यीबाहेक कुमारी, एनसीसी, एभरेष्ट, लक्ष्मी, नेपाल बंगलादेशसहितका १० वटा बैंकहरुको खुद मुनाफा भने ५० करोडदेखि ९५ करोड रुपैयाँसम्मको हाराहारीमा देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया