Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्टिल उद्योगहरुको चरम लापरबाही, माग घटेपछि गुणस्तरहीन उत्पादन

स्टिल उद्योगहरुको चरम लापरबाही, माग घटेपछि गुणस्तरहीन उत्पादन


काठमाडौं, माघ २४
भूकम्पपछिको पुनर्निर्माणको काम सकिन लाग्दा देशभर रडको माग ह्वात्तै घटेको छ । माग घटेपछि नेपालका स्टिल उद्योगहरु आर्थिक समस्यामा परेका छन् । रडको मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा पनि तल आएपछि कार्टेलिङ गरेर उद्योगहरुले मूल्य बढाएका छन् । तर, मागमा उल्लेख्य सुधार नआएको कारण अहिलेको मूल्यवृद्धि पनि त्यति लामो समयसम्म टिक्ने देखिँदैन ।

बजारमा माग घटेर उत्पादित रडहरु फ्याक्ट्रीबाट बाहिर जान छाडेपछि उद्योगहरुले गुणस्तरमा चरम लापरबाही गर्दै उत्पादन गरेका छन् । रड उद्योगहरुले गुणस्तरहीन उत्पादन गरेको गुनासो सर्वसाधारणले गरे पनि आफ्नो घर बनाउँदा उनीहरुले सहज तरिकाले ल्याबमा परीक्षण गरेर रड खरिद गर्न पाउने व्यवस्था अझै पनि छैन ।

सडक, पुल, भवनहरु, जलविद्युत् आयोजना, सिँचाइ, खानेपानीलगायतका परियोजनामा भने रडको परीक्षण नगरी प्रयोग गर्न पाइँदैन । नेपाल गुणस्तर तथा नापतौल विभागले पनि समय समयमा गुणस्तर चिह्न लिएका उत्पादनहरुको नमूना परीक्षण गर्ने गरेको छ । उक्त परीक्षणको क्रममा पहिलो चरणमा तीनवटा स्टिल्स उद्योगले उत्पादनम चरम लापरबाही गरेको फेला परेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार बाराको अशोक स्टिल इन्डष्ट्रिज प्रालि, रौतहटको गोदावरी स्टिल्स प्रालि र रुपन्देहीको गोयन्का स्टिल्स प्रालिले गुणस्तरीमा चरम लापरबाही गरी गुणस्तरहीन रड उत्पादन गरेको पुष्टि भएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार अशोक स्टिलको १२ एमएमको टीएमटी बार एफई५०० गुणस्तरहीन भएको पाइएको छ । अशोकको १२ एमएमको उक्त रडको बिक्रीमा रोक लगाउनुको साथै बजारमा पुगेका सबै रडहरु तुरुन्त फिर्ता गरेर स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको महानिर्देशक पुडासैनीले जानकारी दिए ।

उक्त १२ एमएमको रडमा गुणस्तरका कुनै पनि मापदण्ड पुगेको छैन । १२ एमएमको रडमा इलोङगेसन कम्तीमा १२ प्रतिशत हुनुपर्नेमा ११ दशमलव ६७ प्रतिशत मात्र छ । बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ हुनुपर्नेमा त्यो पनि पूरा भएको छैन । सोही कारण बजारबाट फिर्ता गर्नुपर्ने भएको हो । बजारमा गएको रड बिक्री हुँदा त्यसले थप क्षति पुग्ने भएकाले बजारबाटै फिर्ता गर्न निर्देशन दिइएको जनाइएको छ ।

यस्तै, गोयन्का स्टिल्स प्रालिको आठ एमएमको टीएमटी बार र २५ एमएमको एफई५०० रडको बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ हुनुपर्नेमा त्यो पनि पूरा भएको छैन । उक्त साइजको रड उत्पादन गर्न दिइएको इजाजत स्थगित गरिएको विभागले जनाएको छ ।

यसैगरी, गोदावरी स्टिल्स प्रालिले उत्पादन गर्दै आएको आठ एमएमको टीएमटी बार एफई५०० डी पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ । परीक्षणका क्रममा उक्त रडमा प्रुफ स्ट्रेन्थ/एइल्ड स्ट्रेन्थको मान पाँच सय एन/एमएम स्क्वायर हुनुपर्नेमा ४६१ एन/एमएम स्क्वायर मात्र छ । उक्त रडको बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ हुनुपर्नेमा त्यो पनि पूरा भएको छैन ।

सबै स्टिल्समा एउटै गुणस्तर कमी भएको कारण मिलेमतोमा कम गुणस्तरका उत्पादन गर्न थालेको हो कि भन्ने आशंका विभागले गरेको छ । विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम १५ को उपनियम ‘क’अनुसार कारबाही अगाडि बढाइएको जनाएको छ । विभागले अन्य स्टिल्स उद्योगहरुको उत्पादनको पनि परीक्षण जारी राखेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया