Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘श्रम मन्त्रालयको चरणबद्ध उपलब्धि लक्ष्यअनुरुप नै’

‘श्रम मन्त्रालयको चरणबद्ध उपलब्धि लक्ष्यअनुरुप नै’


काठमाडौं, माघ २४
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार अर्धवार्षिक प्रगति समीक्षा सार्वजनिक गरेको छ । प्रगति समीक्षाअनुरुप मन्त्रलायको चरणबद्ध उपलब्धि लक्ष्यअनुसार प्राप्त भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले मन्त्रालयले चरणबद्ध उपलब्धिको लागि राखेका लक्ष्य ७० दशमलव ५ प्रतिशत लक्ष्यअनुरुप नै प्राप्त भएको बताए ।

मन्त्रालयले चरणवद्ध उपलब्धिको लागि ७० दशमलव ५ प्रतिशत लक्ष्य राखेको थियो सो लक्ष्य प्राप्त गर्न सफल भयौं, उनले भने, ‘चरणबद्ध उपलब्धिमध्ये बाँकी प्रतिशतमध्ये २८ दशमलव ८ प्रतिशत प्रगतिको क्रममा रहेको र शून्य दशमलव सात प्रतिशत कार्यक्रम सुरु हुन नसकेको अवस्था छ ।’ उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लागि सो प्रगति विवरण तयार गरेको बताए ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रदान गर्ने उद्देश्यले तयार पारेको सो प्रगति विवरण श्रम मन्त्रालय र सोअन्तर्गत निकायको प्रगति हो । कार्यक्रममा मन्त्रालय र अन्तर्गत निकायको वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको हालसम्मको प्रगतिका विषयहरुमा समीक्षा भएको मन्त्रालयले जानकारी दिएको छ ।

श्रममन्त्री रामेश्वर राय यादवले अन्तर्निकाय समन्वय र सहकार्यमा जोड दिनुपर्ने बताए । मन्त्री यादवले सरकारको नीतिबमोजिम आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीको क्षेत्र र सम्भावना खोजी गर्नुपर्ने बताए । साथै सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउनुपर्ने र आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारी समेतलाई उपलब्धिमूलक बनाउन सहज पुग्ने गरी कार्य गर्नुपर्ने बताए ।

उनले मन्त्रालयको कार्यलाई अझ बढी नतिजादायी बनाउन सबै निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नुपर्ने धारण राख्दै लक्ष्यअनुसार प्रगति हुन नसकेको कार्यक्रमलाई बाँकी अवधिमा लक्ष्यअनुसारकै प्रगति हुने गरी रणनीति बनाई कार्यान्वयन गर्न निर्देशन दिए । समीक्षा कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुखहरु र अन्तर्गत निकायका महानिर्देशक, कार्यकारी निर्देशकहरु सहभागी थिए भने उनीहरुले अर्ध वार्षिक प्रगतिको प्रस्तुतीकरण र समीक्षा गरेका थिए ।

कार्यक्रममा मन्त्रालयलाई चालू आवमा विनियोजन भएको बजेट, कार्यक्रमगत, शीर्षकगत र स्रोतगत छलफल भएको थियो । विनियोजित कार्यक्रमको हरेक शीर्षकमा भएको कार्य प्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसारको प्रगति हासिल गर्न चाल्नुपर्ने कदमको बारेमा समेत छलफल भएको थियो ।

मन्त्रालयका सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खदिरको सूचना शीघ्र प्रकाशन गर्न निर्देशन दिनुका साथै श्रम सम्बन्ध असल राख्ने, वैदेशिक रोजगारीमा ठगी अनियमितता घट्ने, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिने र सामाजिक सुरक्षा कोषमा आबद्धता बढ्दै जानुपर्ने विषयलाई केन्द्रविन्दुमा राखी कार्य गरी मन्त्रालयको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया