Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनतर्फको नाका अवरुद्ध हुँदा स्याउ आयातमा समस्या

चीनतर्फको नाका अवरुद्ध हुँदा स्याउ आयातमा समस्या


काठमाडौं । नेपाली बजारमा बाह्रैमास पाइने स्याउको आपूर्तिमा अहिले समस्या आएको छ । खासगरी नेपालमा चीनबाट ठूलो परिमाणमा स्याउ आयात हुनेगरेको छ । तर हाल चीनले गरेको अघोषित नाकाबन्दीका कारण केरुङ र तातोपानी नाकामा लामो समयसम्म कन्टेनरहरू अवरुद्ध भएका छन् ।

नाकामा लामो समयसम्म कन्टेनरहरू अवरुद्ध हुँदा चीनबाट आउने स्याउलगायतका फलफुलहरू बिग्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार यस वर्ष हालसम्म नेपालमा चार सय ७८ मेट्रिकटन विदेशी स्याउ भित्रिएको छ । त्यसमध्ये भारतबाट एक सय ९७ र चीनबाट दुई सय ३६ मेट्रिकटन आयात भएको समितिले जनाएको छ । बाँकी रहेको ४५ मेट्रिकटन भने स्वदेशी उत्पादन हो । समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार भारत र चीनबाट आउने स्याउले नै यहाँको सबैजसो माग धानेको छ । नेपालमा कम उत्पादन हुने र त्यसमाथि पनि निश्चित समयमा मात्रै उत्पादन हुने भएकाले बाह्रैमास विदेशी स्याउले बजार लिएको श्रेष्ठले बताए । उनले भने, ‘नेपालको स्याउ सिजनका बेलामा मात्र पाइन्छ तर भारत र चीनबाट १२ महिना नै आउनेगरेको छ ।’ कालिमाटी बजारमा स्वदेशी स्याउ भने मुस्ताङ, मनाङ, जुम्लाबाट आउने गरेको उनले बताए ।

पछिल्लो समय स्याउ आयातका लागि निकै समस्या झेल्नुपरेको आयतकर्ता व्यवसायी बताउँछन् । धेरैजसो तातोपानी र केरुङ नाकाबाट स्याउ भित्रिने गरेको र अहिले उक्त नाकाहरूमा अघोषित नाकाबन्दीजस्तै भएका कारणले लामो समय लगाएर भारत हुँदै ल्याउनुपरेको कुलेश्वर फलफूल बजारका होलसेल व्यापारी अमर बानियाँले बताए । उनले भने, ‘स्याउको आपूर्ति प्रणाली एकदमै खल्बलिएको छ, नेपाल सरकारले स्याउको क्षेत्रमा आइपरेको समस्याहरूको लागि कुनै पहल गरेन ।’ चीनतर्फका नाका अवरुद्ध भएका कारण स्याउ लोड भएका कन्टेनर समेत नेपाल आउन पाएका छैनन् । कतिपय स्याउ भारत हुँदै ल्याइने गरेको छ । भारत हुँदै ल्याउँदा लामो समय लाग्ने भएकाले अहिले स्याउ कुहिने र बिग्रिने समस्या बढेको उनले बताए । उनले भने, ‘पहिला एक हप्तामा आउने समानहरू अहिले डेड÷दुई महिनामा मुस्किलले आउने गर्छ । आएका सामानहरूमध्ये पनि कतिपय त बिग्रिएको र सडेको पनि पर्नेगरेको छ ।’

स्याउ बिक्री गर्ने व्यापारीहरू पनि हाल मर्कामा परेको र मूल्य समेत बढेको उनले बताए । समितिका अनुसार अहिले बजारमा फुजी स्याउको मूल्य प्रतिकेजी दुई सय ५० देखि दुर्ई सय ८० रूपैयाँसम्म पर्नेगरेको छ । नेपाली बजारमा फुजी, चकलेटी र झोलेलगायतका स्याउ पाइन्छ । अहिलेसम्म भारत र चीनबाट आएको स्याउले नै नेपाली बजारको माग पूरा गरेको छ । चीन र भारतबाट नआउने हो भने नेपालमा उत्पादन भएको स्याउले १५ दिन पनि बजार धान्न नसक्ने उनले बताए । समितिका प्रवक्ता श्रेष्ठका अनुसार स्वदेशी स्याउ पर्याप्त उत्पादन नहुँदा विदेशी स्याउ नै भण्डारण गरेर बेच्नुपर्ने बाध्यात्मक अवस्था छ । बाह्रैमास पाइने र स्वास्थ्यवर्द्धक पनि भएकाले स्याउको माग धेरै छ । अझ बिहान उठ्नेबित्तिकै नियमित एउटा स्याउ खाँदा मुटुसम्बन्धी रोग समेत लाग्नबाट कम हुने चिकित्सकहरू बताउँछन् । स्याउमा फाइबर र एन्टिअक्सिडेन्टको मात्रा एकदमै धेरै हुन्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया