Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली राजदूतावास मलेसियाबाट विद्युतीय राहदानीको सुरुवात

नेपाली राजदूतावास मलेसियाबाट विद्युतीय राहदानीको सुरुवात


काठमाडौं । नेपाली राजदूतावास, मलेसियाबाट विद्युतीय राहदानीको वितरण सुरुवात गरिएको छ । बुधबार एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरुवात गरिएको हो । मलेसियामा दुई लाखभन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा आबद्ध छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आएका सेवाग्राही श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको थियो । राहदानी विभागबाट उनको राहदानी प्रिन्ट समेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्रोल्मेन्ट गरेको छ । राजदूतावासले सुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र सोपश्चात् नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ । यससम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले बेभसाइट तथा फेसबुकमार्फत जानकारी गराउने छ ।

विद्युतीय राहदानी सुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भाग लिएका थिए । त्यस्तै उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक एल्भिन चाय, मलेसियामा कार्यरत गैरआवासीय नेपाली संघलगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो ।

सो कार्यक्रममा कार्यवाहक राजदूत मोतिबहादुर श्रीसले सेवाग्राहीको चापलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेसनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्दै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद दिए । अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया