Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमतदानको अघिल्लो दिन १८ वर्ष पुग्नेले पनि मतदानमा सहभागी हुन पाउने

मतदानको अघिल्लो दिन १८ वर्ष पुग्नेले पनि मतदानमा सहभागी हुन पाउने


काठमाडौं । निर्वाचन आयोगले मतदानको अघिल्लो दिन १८ वर्ष पुग्नेले पनि स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन आगामी २०७९ साल वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी मिति घोषणा गरेको छ । आयोगका अनुसार वैशाख २९ गते १८ वर्ष उमेर पुगेकाले पनि उक्त निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गरी आसन्न स्थानीय तहको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गते अर्थात् निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति निर्धारण गरेको जानकारी दिएका हुन् । यसअघि आयोगले सरकारले निर्वाचन घोषणा गरेको दिन १८ वर्ष पुगेका व्यक्तिलाई मात्रै मतदान गर्न दिनेगरेको थियो । नेपालको संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली नागरिकलाई संघीय कानुनबमोजिम मतदानको अधिकार हुने उल्लेख गरेबमोजिम मतदाता नामावली ऐन, २०७३ अनुसार आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था छ । कानुनमा भएको प्रावधानअनुसार १६ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकता प्राप्त गर्ने नागरिकको मतदाता नामावलीमा नाम संकलन गरिने र यसरी नाम संकलन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश गर्ने प्रयोजनका लागि १८ वर्ष उमेर पूरा हुने निर्दिष्ट मिति आयोगले विगतमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरिएको थियो ।

नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मानिएको आयोगले जनाएको छ । निर्वाचनको अघिल्लो दिनलाई निर्दिष्ट मिति मान्दा मतदाता नामावलीमा नाम समावेश भएका करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ । निर्वाचनको अघिल्लो दिनलाई १८ वर्ष उमेर पुग्ने निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान छ । नेपालको संविधान र संघीय कानुनले गरेको व्यवस्थाबमोजिम आयोगको प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरीवेक्षण र निर्देशनमा रही बालिग मताधिकारका आधारमा हुने निर्वाचनका लागि १८ वर्ष उमेर पूरा गरेको नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरी मतदाता हुन पाउने अधिकारको सुनिश्चिता मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ मा गरिएको छ ।

आयोगले मतदाता नामावली संकलन नियमितरूपमा गर्ने गरेकोमा निर्वाचन मिति घोषणा भइसकेपछि नाम दर्ता गर्ने कार्य स्थगित गरेको छ । आयोगले गत माघ २५ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगन गरी अन्तिम मतदाता नामावलीको लागि अद्यावधिक गर्ने काम प्रारम्भ गरेको छ । निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार अद्यावधिक गर्नको लागि २०७४ को निर्वाचनमा एक करोड ५४ लाख २७ हजार नौ सय ३८ जना मतदाता कायम भएकोमा गत वर्ष २०७७ पुस ५ गतेलाई कट अफ डेट कायम गर्दा एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता कायम भएका थिए ।

यस्तै आयोगले निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । कानुनतः निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्यसम्पादन गर्न आयोगलाई एक सय २० दिन आवश्यक भए पनि नेपाल सरकारले माघ २४ गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गर्दा ९५ दिन मात्र निर्वाचन अवधि प्राप्त भएकोले आयोगले निर्वाचनको तयारीलाई तीव्रता दिएको हो । आयोगले अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने, निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचयपत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्नेलगायतका क्रियाकलाप समावेश गरी निर्वाचन कार्यतालिका समेत स्वीकृत गरिसकेको छ ।

यस्तै निर्वाचन व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचन आयोगका लागि करिब १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएअनुसार सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतिको प्रक्रियामा रहेको र सोअगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आह्वान गर्नेगरी मापदण्ड र स्पेसिफिकेसन स्वीकृत गरिएको आयोगको भनाइ छ ।

निर्वाचन आयोग र अन्तर्गत कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बिदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्नेछन् । आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यताका सम्बन्धमा विज्ञहरूसँग भएको छलफल तथा परामर्शअनुसार आयोगले यससम्बन्धी कार्यको अध्ययन गरी सात दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न एक कार्यदल समेत गठन भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया