Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालबाट पाम आयल लैजान भारत सहमत

नेपालबाट पाम आयल लैजान भारत सहमत


विराटनगर, माघ २७
भारतले नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएको छ । भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल लैजान र ल्याउन अनुमति दिएको हो । करिब एक महिनादेखि रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुलेको हो । भारतका आधा दर्जन व्यवसायीले पाम आयातको अनुमति लिइसकेको हुँदा भारतका उद्योगीलाई नै समस्या परेपछि भारत सरकारले नेपालबाट पाम आयल लैजान अनुमति दिएको हो ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित क्वालिटी रिफाइनरीका सञ्चालक एवं उद्योग संगठन मोरङका कार्यसमिति सदस्य विपीन कावराले पाम आयल लिएर भन्सार पुगेका गाडीहरू सोमबारदेखि छुट्नसक्ने जानकारी दिए । उनले भारतले नेपालबाट पाम आयल आयात गर्न केही कम्पनीहरूलाई अनुमति दिइसकेको जानकारी आफूले पाएको बताए । भारत सरकारले नेपालबाट प्रशोधित पाम आयल आयात गर्न आधा दर्जन कम्पनीलाई अनुमति दिइसकेको र थप कम्पनीहरूलाई पनि अनुमति दिने तयारी गरेको छ । हालसम्म भारतीय व्यवसायीले नेपालबाट ४० हजार मेट्रिकटन प्रशोधित पाम आयल आयात गर्ने अनुमति लिएका छन् ।

भारत सरकारले गत पुुस २३ गते सूचना जारी गरी प्रशोधित पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । यसबाट भारतीय बजारलाई लक्षित गरी उत्पादन बढाएका नेपालका उद्योग प्रभावित भएका थिए । उक्त समयमा नेपाल सरकारले नेपाली उद्योगिले उत्पादन गरेको पाम आयलको स्टोक विवरण उपलब्ध गराउन भन्दै सबै उद्योगीहरुसँग उत्पादीत पाम आयलको विवरण मागेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा पाम आयलको निकासी खोलिएको करिडोरका उद्योगीको भनाइ छ । तत्काल पाम आयल निर्यातको अनुमति पाए पनि भारत पर्ख र हेरको रणनीतिमा हुनेहुँदा अहिले नै नेपाली उद्योगी खुसी हुने अवस्था नभएको स्थानीय उद्योगीले बताएका छन् । पछिल्लो समय प्रशोधित पाम आयल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको थियो । नेपालको कुल निर्यातमा यसको २५ प्रतिशत अंश थियो । तर, भारतले पाम आयल आयातमा रोक लगाएपछि पुसदेखि नै नेपालबाट भारततर्फ यसको निकासी पूर्णरुपमा रोकिएको थियो ।

भारत सरकारले नेपालबाट पाम आयल आयात खुलाएसँगै नेपाली व्यवसायीहरूले भारतलाई लक्षित गरी तयार गरेको करिब १ लाख मेट्रिक टन प्रशोधित पाम आयलको निकासी हुने बाटो खुलेको छ । नेपाली उद्योगीले मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयल भित्र्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । तर, भारतले मलेसियाबाट हुने प्रशोधित कच्चा पाम आयातलाई लक्षित गरी लगाएको प्रतिबन्धका कारण नेपाली उद्योगसमेत प्रभावित भएका थिए ।

प्रतिबन्धका कारण स्वदेशी उद्योगले भित्र्याएको करिब १ लाख मेट्रिकटन कच्चा पाम आयल गोदाममा थन्किएको थियो । त्यो पाम आयल कसरी व्यवस्थापन गर्ने अन्योल थियो । भारतले अनुमति दिएपछि अब स्वदेशी उद्योगलाई केही सहज भएको स्थानीय उद्योगीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया