Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५० स्थानीय तहको नतिजा आउँदा एमाले १९, कांग्रेस १६ र माओवादी १३ तहमा विजयी

५० स्थानीय तहको नतिजा आउँदा एमाले १९, कांग्रेस १६ र माओवादी १३ तहमा विजयी


काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । आइतबार रातिसम्ममा ५० वटा स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसअनुसार नेकपा एमालेले १९ स्थानीय तहमा निर्वाचित भएको छ भने नेपाली कांग्रेसले १६ र माओवादी १३ तहको प्रमुखमा विजयी भएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी दुई ठाउँमा निर्विरोध निर्वाचित भएको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेले १६ स्थानमा बाजी मारेको छ भने नेपाली कांग्रेसले २३ र माओवादी केन्द्र सात तहमा निर्वाचित भएको छ । नेकपा एकीकृत समाजवादीले भने तीनवटा उपप्रमुख जितेको छ ।

त्यस्तै मतगणना जारी रहेका स्थानीय तहमध्ये नेपाली कांग्रेसले प्रमुखमा २७९ र उपप्रमुखमा २३४ तहमा अग्रता लिएको छ भने नेकपा एमालेले प्रमुखमा १७९ र १९६ तहमा अग्रता हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले प्रमुखमा १११ र उपप्रमुखमा १३१ तहमा अग्रता लिँदा नेकपा एकीकृत समाजवादीले प्रमुख र उपप्रमुखमा १७/१७ तहमा अग्रता लिएको छ ।

त्यस्तै जसपाले प्रमुखमा ३३ र उपप्रमुखमा ३७ तहमा अग्रता लिएको छ भने लोसपा प्रमुख १४ र उपप्रमुखमा ११ तहमा अगाडि छ । त्यस्तै भक्तपुर नगरपालिकामा नेमकिपाले अग्रता लिएको छ भने हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नं. १, २, ३, ४, ३१ र ३२ को मत गणना गरिएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् भने नेकपा एमालेका केशव स्थापित दोस्रो र नेपाली कांग्रेस अर्थात् पाँचदलीय सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।

काठमाडौं महानगरपालिका वडा नंं. १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् । भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए । यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७८३ मत ल्याएका छन् ।

एमालेले यहाँबाट मेयरमा ३६५ र कांग्रेसले ४५१ मत पाएको छ । राप्रपाले एक सय मत पाएको छ । त्यस्तै यस स्थानीय तह निर्वाचनको इपिसेन्टरका रुपमा हेरिएको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार रेणु दाहाललाई झिनो मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल भरतपुरको मेयर पदमा पुनः दोहोरिएपछि त्यहाँ सबैको चासोको विषय बनेको छ ।

पोखरा महानगरपालिकामा सत्तागठवन्धनका उम्मेदवार धनराज आचार्यले एमालेका मेयर उम्मेदवार कृष्णराज थापालाई थोरै मतले अग्रता लिएका छन् भने वीरगन्जमा सत्ता गठवन्धनका तर्फबाट जसपाका मेयर उम्मेदवार राजेशमान सिंहले एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई फराकिलो अन्तरले पछि पारेका छन् ।

त्यस्तै ललितपुरमा सत्ता गठबन्धनका मेयर उम्मेदवार भएका कांग्रेसका चिरिबाबु महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारलाई दोब्बर मतले पछाडि पारेका छन् ।

विराटनगर महानगरपालिकामा सत्ता गठवन्धनका कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले धेरै मतान्तरले अग्रता लिएका छन् भने नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले पछ्याइरहेका छन् ।

छवटा महानगरपालिकामा भरतपुरबाहेकका सबैको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारहरु अगाडि छन् भने उपमेयरमा भने भरतपुर र पोखरा बाहेकमा नेकपा एमालेका उम्मेदवार अगाडि छन् ।

काठमाडौं महानगरपालिकामा हालसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह फराकिलो मतान्तरले अगाडि रहे पनि सहरको भित्री बस्तीको मत गणना हुन थालेपछि उनी पछि पर्दै जाने कांग्रेस, एमालेका नेताहरु बताउँछन् । काठमाडौं महानगरपालिकामा एक लाख ९१ हजार एक सय ८६ मत खसेको छ ।

काठमाडौं महानगरपालिकाका ३२ मध्ये १२ वडा भित्री सहरमा पर्छन् । जसअन्तर्गत १० वडा पूरै भित्री सहरमा र दुई वडाको आधा भाग भित्री सहरमा पर्छ । पूरै भित्री सहरमा पर्ने वडाहरु १२ टेकु, १८ नरदेवी, १९ दमाइटोल, २० भीमसेनस्थान, २१ ज्यावहाल, २२ टेबहाल, २३ ओमबहाल, २४ मखन, २५ जनबहाल र २७ महाबौद्ध क्षेत्र हुन् । यी १० वटा वडामा ५३ हजार ६१ मतदाता भए पनि ३६ हजार ४२५ ले मतदान गरेका छन् । यो मत नै महानगरपालिकाको निर्णायक मतका रुपमा लिइन्छ । यी वडाहरुको मतगणना सुरु भएपछि मात्र मेयर कसले जित्छ भन्ने अनुमान गर्न सकिन्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया