Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमकै र भटमासको पिनामा भन्सार महसुल घटाउन आग्रह

मकै र भटमासको पिनामा भन्सार महसुल घटाउन आग्रह


काठमाडौं । नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले नेपाल मकै र भटमासको पिनामा आत्मनिर्भर नहुन्जेलसम्म भन्सार महशुल घटाई १ दशमलव ६ प्रतिशत कायम गर्न सरकारसँग आग्रह गरेका छन् । संघको काठमाडौंमा सम्पन्न २१औँ साधारणसभामा उनले दाना, कुखुराको चल्ला, अण्डा र मासु उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि मुख्य कच्चापदार्थहरू मकै तथा भटमासको पिना आयात गनुपर्ने बाध्यता रहेको बताए ।

हाल उक्त कच्चापदार्थको अन्तर्राष्ट्रिय बजारमूल्य आकाशिएसँगै भन्सार दरको कारणले झन् मारमा परेकोले मकै र भटमासको पिनामा आत्मनिर्भर नहुन्जेलसम्म भन्सार महशुल घटाई १ दशमलव ६ प्रतिशत कायम गर्न र नेपालमै खेती प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन उनले सरकारसँग माग गरे । उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका विशिष्ट सदस्य डा. तिलचन्द्र भट्टराईले नेपालको कुखुरापालन उद्योग अनेक आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको बताए । उद्योगहरूले नवीनतम प्रविधि अँगालिरहेको र प्रतिव्यक्ति अण्डा उपलब्धता ७२ तथा मासु ६ दशमलव १ केजी रहेको जानकारी दिए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले मकै तथा भटमासको खेतीमा मन्त्रालयले उचित पहल लिने आश्वासन दिए । उनले समय सापेक्ष कृषि नीति बनाउन पहल गरिरहेको र नेपाल दाना उत्पादन, कुखुरा उत्पादन र अण्डा उत्पादनमा आत्मनिर्भर भएको विषय गर्वको विषय भएकोले यो क्षेत्रको विकासको लागि उचित नीति बनाउने बताए । साधरणसभाले फेरि रविन पुरीको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर प्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदिप कुमार रुंगटा र तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली चयन भएका छन् । संघको महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा, सचिवमा राज कुमार पराजुली र सदस्यहरूमा देवीप्रसाद गौतम, नितेश गुप्ता, नारायण प्रसाद फुँयाल, आनन्द कुमार बगडिया, विनोद पोखरेल, सुरेन्द्र राज प्रधान, विनोद चन्द्र केसी, विनोद भण्डारी, राजकुमार बन्जारा र गोपाल टण्डन चयन भएका छन् ।

साथै उक्त समारोहमा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ तथा अन्जन कुमार श्रेष्ठ, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौड्याल, नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मनिता जोशी वैद्यलगायतको उपस्थिति रहेको थियो । नेपालमा दाना उद्योगको प्रवद्र्धन गर्न, नेपाललाई उत्पादनमा आत्मनिर्भर बनाउन कुखुरापालन क्षेत्रकै पहिलो संस्थाको रुपमा २०४६ सालमा संघको स्थापना भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया