Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेनेटरी प्याड आयातमा कर लगाउन माग

सेनेटरी प्याड आयातमा कर लगाउन माग


काठमाडौं । नेपाल सेनेटरी प्याड उत्पादक संघले सेनेटरी प्याड आयातमा कर लगाउनुपर्ने माग राखेको छ । बजेटमार्फत सरकारले सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेपछि संघले विरोध जनाएको हो । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धराशायी हुने भन्दै तत्काल निर्णय फिता नलिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

संघका अनुसार नेपालमा ठूला–साना गरी ३५–४० उद्योगहरु सञ्चालनमा रहेका छन् । छ अर्बको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुटको घोषणा गरेको छ । हालको १५ प्रतिशत रहेको भन्सार महशुल अब १ दशमलव ५ प्रतिशत मात्र लागू हुनेछ । कच्चापदार्थमा १ प्रतिशत भन्सार महशुलको घोषणा गरिएको छ तर केही कच्चापदार्थ तथा प्याकेजिङ मटेरियलमा लाग्ने ५ प्रतिशत अन्तःशुल्कबारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति समेत जनाएको छ । तयारी वस्तुभन्दा कच्चापदार्थमा बढी कर तिर्नुपर्ने भन्दै संघले सरकारको यो कदमले स्वदेशी उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने बताएको छ । संघका अनुसार डेढ अर्बको हालको आयात अत्यधिक बढेर पाँच वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापारघाटाको डरलाग्दो घेराबाट उम्किन निजी क्षेत्र नसक्ने अवस्थामा पुग्नेछ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डोलराज अधिकारीले बजेटले प्याड उद्योगीहरुमाथि अन्याय गरेको बताए । सेनेटरी प्याड आयातमा यति धेरै छुट दिन आवश्यक नरहेको भन्दै उनले तत्काल यो निर्णय फिर्ता लिन सरकारसँग माग राखे । उनका अनुसार नेपालमा प्याड जम्मा खपत ३० करोड हुनेगरेको छ । तर नेपाली उद्योगहरुमा ९० करोड उत्पादन गर्ने क्षमता रहेको छ । उनले ६० प्रतिशत उत्पादन भएका प्याड कहाँ बेच्ने त्यसको टुंगो नभएको समेत बताए । सरकारले आयातलाई हदैसम्मको सुविधा दिएर विदेशी मोडललाई प्राथमिकता दिएको उनको आरोप छ । सरकारको १ दशमलव ५ प्रतिशत कर लगाएर आयात गर्ने नीतिले नेपाली उद्योगहरु ध्वस्त र बन्द हुने अवस्था सिर्जना भएको उनले बताए । उनले भने, ‘६ हजार जनाको रोजगारी गुमाउने अवस्था छ ।’ यो निर्णय फिर्ता नलिएमा जुनसुकै पहलकदमी चाल्न बाध्य हुने पनि उनले चेतावनी दिए ।

पाकिस्तानमा बाहिरका सामान आयातमा २० प्रतिशत आयातमा कर लगाइएको भन्दै भारतमा पनि २३ प्रतिशत कर लिएको उल्लेख गरे । तर, नेपालमा १ दशमलव ५ प्रतिशत आयातमा ट्याक्स लिएर नेपाली उद्योगलाई ध्वस्त गर्ने, सिध्याउने, नष्ट गर्ने नीतिले उद्योग सकिने अवस्थामा पुगेको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको उपाध्यक्ष सुर्यबहादुर थापाले सरकारले आयात कर कम गर्दा सेनेटरी प्याड मात्र नभई धेरै उद्योगहरुमा समस्यामा परेको बताए । उनले नेपाल सरकार पनि सेन्थेटिक प्याड उद्योगको २५ प्रतिशत पार्टनर भएको जानकारी दिए । उनले राज्यले आफू पार्टनर भएको पनि बिर्सिएको समेत टिप्पणी गरे । उद्योगीको हितमा नभएको निर्णय तत्काल फिर्ता लिनुपर्ने उनको भनाइ छ । त्यस्तै, डा. सपना पाण्डे भुषालले सरकारले सम्बन्धित क्षेत्रसँग सल्लाह नगरी बजेट प्रस्तुत गरेको बताइन् । ‘बजेट भाषण हुनुअघि सरकारले त्यस क्षेत्रसँग सल्लाह गर्नुपर्ने थियो, तर सरकारले त्यसो गरेन,’ उनले भनिन् । देशबाहिरबाट सामान ल्याउनै पर्ने भए नेपालमा उत्पादन भएका भन्दा सस्तो दरमा मात्र खरिद गर्नुपर्ने उनको भनाइ छ । साथै उनले सबैलाई नेपाली उत्पादन नै प्रयोग गर्न समेत सुझाव दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया