Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकमजोर स्रोतका बाबजुद बजेटको आकार हरेक वर्ष बढ्दै

कमजोर स्रोतका बाबजुद बजेटको आकार हरेक वर्ष बढ्दै

वैदेशिक अनुदान तथा ऋणमा भर पर्नुपर्ने अनिवार्य व्यवस्थाले बजेट स्रोत व्यवस्थापनमा थप कठिनाइ


काठमाडौं । कोभिड १९ महामारी र रसिया–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा त्यसबाट नेपालको अर्थतन्त्र पनि प्रभावित बन्नपुगेको छ । विदेशी सञ्चिति घट्नु, लगानीयोग्य रकम अभाव लगायतका समस्या नेपाली अर्थतन्त्रले पछिल्ला समय भोग्दै आएको छ । यसैबीच अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । जुन बजेट तत्कालीन अर्थमन्त्री विष्णु पौडलेले आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक गरेको बजेटको आकारभन्दा नौ प्रतिशतले बढी हो । स्रोत सुनिश्चित नहुँदा नहुँदै हरेक आर्थिक वर्ष बजेटको आकार बढ्दै गएको पाइन्छ ।

स्रोतको व्यवस्थापन नभई बजेट सार्वजनिक गर्ने परम्परालाई अर्थमन्त्री शर्माले यस वर्ष पनि दाहो-याएका छन् । स्रोत व्यवस्थापनको क्रममा उनले आयातमा निर्भर रहेको राजस्व संरचनालाई परिवर्तन गरी क्रमशः आन्तरिक राजस्वको हिस्सा बढाउने र राजस्वको दायरा विस्तार गर्ने नीति लिएको बताए । योसँगै आयात राजस्वमा भर पर्ने गरेको बजेट स्रोत व्यवस्थापनमा थप चुनौती देखा परेको छ । उच्च आन्तरिक राजस्व र न्यून आयात राजस्वमार्फत बजेट स्रोत व्यवस्थापन गर्नुपर्ने सरकारमाथि दायित्व छ । युवा शक्ति वैदेशिक रोजगारी र बाँझो जग्गाका कारण कृषिको विकास ओरालोतर्फ लागेको छ । कृषि उत्पादनको उपज सहज नहुने, बजारीकरणको अभावलगायतका समस्याले गर्दा कृषि क्षेत्रमा एक/दुई वर्षमै विकास सम्भव नभएको जानकारहरु बताउँछन् । कृषि उत्पादन वृद्धि नहुँदा उद्योगलाई आवश्यक पर्ने अधिकांशजसो कच्चापदार्थ आयात भएको पाइन्छ, त्यसमा पनि बन्देज लगाउँदा राजस्व संकलनमा सरकारले थप कठिन हुने देखिन्छ ।

चालू आर्थिक वर्षमा बजेट स्रोत व्यवस्थापनको लागि उच्च आयात खुला गरिएको पाइन्छ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा आयात राजस्व १६ खर्ब चार अर्ब तथा निर्यात राजस्व एक खर्ब ७३ अर्ब संकलन भएको भन्सार विभागले जनाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट व्यवस्थापनको लागि मात्र उच्च आयात खुला गर्न दिएको देखिन्छ । वैदेशिक मुद्रा सञ्चिति बढाउनुपर्ने अवस्थामा समेत बजेट स्रोत व्यवस्थापनको लागि सरकारले उच्च आयात खुला गरेको पाइन्छ । जुन यसअघिका सरकारले पनि गर्दै आएको पाइन्छ ।

आन्तरिक राजस्व कमजोर भएको हुँदा आयात राजस्वमा भर पर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दाले बजेट स्रोत व्यवस्थापनमा सदैव अप्ठ्यारो हुने गरेको पाइन्छ । जुन भनेको मुलुकमा आर्थिक गतिविधि कम हुनु हो । यसैबीच सरकारले आगामी आर्थिक वर्षको लागि बजेट खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड संकलन गरिँदा चार खर्ब ९८ अर्ब २६ करोड अपुग हुने बताएको छ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ४२ अर्ब २६ करोड जुटाइने अर्थमन्त्री शर्माले बताए । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद दुई खर्ब ५६ अर्ब आन्तरिक बजारबाट ऋणमार्फत उठाइनेछ ।

वैदेशिक अनुदान तथा ऋण सहायता बजेट स्रोतको अर्को मुख्य आधार मानिन्छ । तर, हाल विश्व परिस्थितिमा वैदेशिक अनुदान तथा ऋण पाउन निकै कठिन मानिन्छ । चालू आर्थिक वर्षमा पनि सरकारले लक्ष्यअनुरुप वैदेशिक अनुदान तथा ऋण सहायता प्राप्त गर्नसकेको छैन । यस्तो अवस्था कति लम्बिन्छ समेत भन्न नसकिने अवस्था रहेको छ । जसको असर बजेट स्रोतमा पर्ने देखिन्छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजन गरेको थिए । उक्त वर्ष बजेटको स्रोतको रुपमा राजस्वबाट १० खर्ब २४ अर्र्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड र वैदेशिक ऋणबाट तीन खर्ब नौ अर्ब २९ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ५० अर्ब रहने उल्लेख गरिएको थियो । त्यसैगरी वैदेशिक ऋणबाट तीन खर्ब नौ अर्ब २९ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ५० अर्ब संकलन गर्ने बताइएको थियो । तर, वैदेशिक ऋण र आन्तरिक ऋण उठाउन सरकारलाई समस्या भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा कुल विनियोजनमध्ये संघले चालूतर्फ छ खर्ब ७८ अर्ब ६१ करोड (४१.२ प्रतिशत), पुँजीगतर्फ तीन खर्ब ७४ अर्ब २६ करोड (२२.७ प्रतिशत), वित्तीय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड (१२.६ प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८६ अर्ब ७१ करोड (२३.५ प्रतिशत) रहेको छ ।

त्यसैगरी अर्का अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ मा सार्वजनिक गरेको १४ खर्बमाथिको बजेट पनि राजस्वको साथै वैदेशिक अनुदान तथा ऋण र आन्तरिक ऋण स्रोतको रुपमा रहेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरिएकोमा राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड र वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड उठाइने बताइएको थियो भने आन्तरिक ऋण दुई खर्ब २५ अर्बको हुने बताइएको थियो । यसैबीच, बजेटको उच्च स्रोतमा वैदेशिक अनुदान तथा ऋण रहेसम्म स्रोत व्यवस्थापनमा सदैव कठिनाइ हुने जानकारहरु बताउँछन् ।

ब्याज अनुदानमा १३ अर्ब ६९ करोड विनियोजन
सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सहुलियत कर्जालाई प्रोत्साहन गर्ने नीति लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्समक्ष आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै सहुलियत कर्जालाई प्रोत्साहन गर्ने नीति लिएकोे घोषणा गरेका हुन् ।

सोअनुसार सरकारले सहुलियत कर्जामा ब्याज अनुदान दिनकै लागि आगामी वर्ष १३ अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विपन्न वर्ग, दलित, न्यून आय भएका क्षेत्रका जनतालाई दिइने सरकारले वित्तीय क्षेत्रलाई राष्ट्रिय पुँजी परिचालनको महत्वपूर्ण आधारको रुपमा अगाडि बढाउने नीति पनि अघि सारेको छ । कानुनी तथा संस्थागत सुधार गरी पुँजी क्षेत्रलाई आधुनिक, गतिशील, विविधतायुक्त, समावेशी र जोखिममुक्त बनाउने तयारी पनि सरकारले गरेको छ ।

वित्तीय क्षेत्रमा उपलब्ध स्रोत साधनलाई उत्पादनशील एवं राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ । वित्तीय मध्यस्थता लागत न्यूनीकरण गर्दै साधन–स्रोतको महत्तम परिचालन गर्ने उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गर्ने नीति बजेटले लिएको छ ।

यसैगरी सरकारले विपन्न व्यक्ति, दलित तथा पिछडिएको क्षेत्रका स्थायी बासिन्दाले पिछडिएको क्षेत्रमा सञ्चालन गर्ने व्यवसायमा प्रदान गरिने सहुलियतपूर्ण कर्जाको ब्याजदरमा थप एक प्रतिशत विन्दुले छुट दिने घोषणा गरेको छ । लघु, साना तथा मझौला उद्यम, कृषि सहकारी तथा फर्मर महिला उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई प्रदान हुँदै आएको सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छ ।

लघुवित्त र बचत तथा ऋण सहकारी संस्थाहरूको नियमन, निरीक्षण तथा सुपरीवेक्षण व्यवस्था प्रभावकारी बनाउने बजेटमा उल्लेख छ । सीमान्तकृत तथा दलित समुदायको वित्तीय पहुँच अभिवृद्धि गर्न सीमान्तकृत तथा दलित उत्थान कोष स्थापना गर्ने योजना बजेटले लिएको छ । बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको लागि छुट्याएको रकमको न्यूनतम ५० प्रतिशत सो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था बजेटले गरेको छ । यस्तो कोषबाट परिचालन गरिने रकम उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया