Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योग : उद्योगमन्त्री बडू

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योग : उद्योगमन्त्री बडू


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् । ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ भन्ने मूलनाराका साथ महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको इकमर्स साइट एमएसएमई डट कमको बिहीबार राजधानीमा शुभारम्भ गर्दै उनले घरेलु तथा साना उद्योगहरु नै मुलुकका मेरुदण्ड र उत्पादन बढाउने आधार क्षेत्र भएको बताए ।

यस्ता उद्योगहरू सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो । यो क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न सरकार तयार रहेको समेत उनले बताए । लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान इकमर्श साइट सञ्चालनमा ल्याइएकोमा खुसी व्यक्त गर्दै उनले इ–कमर्समार्फत स्वदेशी वस्तुको प्रवर्द्धन र बजारीकरणका लागि सहज हुने बताए । मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको उनको दाबी थियो । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा पनि सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको बताए । लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको उनको भनाइ थियो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्धिको सम्वाहकका रुपमा रहे पनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए । ‘हाम्रा उत्पादनहरु गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रुपमा हाम्रा उत्पादनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बजार विस्तार हुनसकेको छैन । फलस्वरुप हाम्रा उत्पादनहरु स्थानीयस्तरमा मात्रै प्रयोग हुँदै आएका छन्’, उनले भने ।

विगत करिब दुई वर्षमा विश्वभर फैलिएको कोभिड १९ ले गर्दा यस्ता उत्पादनहरुको बजार विस्तार गर्न नसकिएको भन्दै उनले डिजिटल प्रविधिमार्फत बजार प्रवद्र्धन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजीटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्रीवितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ यो अवधारणा आएको बताए ।

महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले भर्चुअल प्रदर्शनी र इकमर्स साइटको औचित्यमाथि प्रकाश पार्दै यसबाट स्थानीयस्तरमा रहेका उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यो क्षेत्रको उचित प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, फेडेरेसन अफ एक्स्पोर्ट एसोसिएसन नेपालका अध्यक्ष पवन कुमार गोल्यानलगायतले सञ्चालित इकमर्स साइटको सफलताको लागि शुभकामना दिँदै सहकार्यका लागि पनि तयार रहेको बताए । इकमर्स साइटमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामानहरुलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारसम्म खरिद र बिक्री गरिन्छ । इकमर्स साइट सञ्चालनमा आएलगत्तै गरिएको खरिदबिक्री डेमोमा पाँच लाख रुपैयाँबराबरको कारोबार भएको महासंघले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया