Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुलास वायरका नाममा ६० करोडमाथिको बेरुजु

हुलास वायरका नाममा ६० करोडमाथिको बेरुजु


विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुँदै आएका औद्योगिक प्रतिष्ठानहरूबाट सरकारले उपलब्ध गराउँदै आएको सुविधाको व्यापकरूपमा दुरूपयोग हुनेगरेको पाइएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुँदै आएको हुलास बायर इन्डस्ट्रिजले भारततर्फ निर्यात गरेको वायरमा लागेको भन्सार राजस्व लामो समयदेखि बुझाउन आनाकानी गरेको पाइएको छ । उक्त राजस्व बुझाउन विराटनगर भन्सारले हुलास वायरलाई पटक–पटक पत्राचार समेत गरेको छ । भन्सारले पटक–पटक पत्राचार गर्दा समेत हुलास वायरका सञ्चालक राजलक्ष्मी गोल्छाले बेवास्ता गरेपछि अब भन्सारले उक्त राजस्व कसरी असुल्ने भन्ने अन्यौल भएको कुरा बताइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा हुलास वायर इन्डस्ट्रिजले आफ्नो उद्योगबाट उत्पादन भएको वायर निकासीका लागि बन्डेट वायर हाउसअन्तर्गतको सुविधा प्रयोग गरी निकासी गर्दा करिब ६० करोडभन्दा बढी रकम बेरुजु भएको विराटनगर भन्सारस्रोतले बताएको छ ।

विदेशबाट औद्योगिक कच्चा पदार्थ आयात गरी स्वदेशमा उत्पादन भएको वायर निकासी गर्नका लागि सरकारले वन्डेट वायर हाउसको सुविधा प्रयोग गरी त्यस्ता वस्तु निकासी गर्ने व्यवस्था गरेको जानकारी पनि विराटनगर भन्सारले दिएको छ । तर आर्थिक वर्ष ०७६/०७७ मा हुलास वायरले उक्त सुविधाअन्तर्गत वायर निकासी गरी ०७७ साल साउनमा बन्डेट वायर हाउसको नवीकरण गर्न नसकेका कारण उक्त उद्योगको नाममा ६० करोडभन्दा बढी रकम तीन वर्षदेखि अहिलेसम्म पनि बेरुजु देखिएको छ ।

पछिल्लो समय सरकारले उक्त प्रावधान हटाएर विदेशबाट कच्चा पदार्थ आयात गरी स्वदेशमा उत्पादन गर्ने उद्योगले वार्षिक तीन करोडबराबरको उत्पादन निर्यात गरे हुन्छ भन्ने प्रावधान राखेपछि हुलास वायरले तीन वर्षदेखि आफ्नो नामबाट हटाउने प्रयास समेत नगरेको बताइएको छ ।

पटक–पटक विवादमा तानिँदै आएको गोल्छा समूहले पारिवारिक अंशबण्डापश्चात् हुलास वायर इन्डस्ट्रिज राजलक्ष्मी गोल्छाको भागमा परेको छ । बन्डेट वायर हाउसको नवीकरण फेल भएर निकासी भएको वायर प्रकरणमा उक्त उद्योगको बेरुजु हटाउने वा सरकारकाबाट मिनाहा गराउने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का एक सदस्यले गोल्छा हाउसबाट करोडौँ रकम समेत उठाइसकेको दाबी समेत समाचारस्रोतले गरेको छ ।

यसरी स्वयं तत्कालीन मन्त्रिपरिषद्का एक जिम्मेवार मन्त्री स्वयं लाग्दा समेत हुलास वायरको बेरुजु हटाउन नसकेको दाबी पनि स्रोतको छ । यसरी हुलास वायरले आफ्नो उत्पादन वायर निकासी गर्दा देखिएको यो बेरुजु प्रकरणले सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका धेरै उद्योगको नाममा अर्बौँको सरकारी बेरुजु रकम हुनसक्ने दाबी समेत गर्न थालिएको छ । हुलास वायरको यो बेरुजु प्रकरणका सम्बन्धमा सञ्चालक राजलक्ष्मी गोल्छालाई टेलिफोन सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन भने हुलास वायरका म्यानेजर मुकेश कोठारीसँग टेलिफोन सम्पर्क गर्दा उनी पनि सम्पर्कमा आउन चाहेनन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया