Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजलविद्युत् र पर्यटनमा इन्डोनेसियाको लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

जलविद्युत् र पर्यटनमा इन्डोनेसियाको लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत्, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेसियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेसियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेसियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेसियाको सरकारलाई आग्रह पनि गरेका थिए ।

प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोेनेसियाली जनतालाई आग्रह गरेको भेटमा सहभागी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेसियाली सरकारसमक्ष पु-याउने बताएका थिए ।

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए । आगामी अक्टोबरमा इन्डोनेसियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवर्द्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताएका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया