Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारीको सम्पत्ति बेचेर सीईओ भण्डारी भाग्ने तयारीमा

सहकारीको सम्पत्ति बेचेर सीईओ भण्डारी भाग्ने तयारीमा


ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था टाट पल्टिएर समस्याग्रस्त भएपछि प्रमुख कार्यकारी निर्देशक तथा सीईओ दुवै पदमा अवैध रुपमा बसिरहेका सुरेन्द्र भण्डारीले सहकारीले लिलाम सकार गरेको सम्पत्ति बेचबिखन गरेर भाग्ने तयारीमा लागेका छन् ।

भण्डारीले केही दिनअघि ललितपुरको भैँसेपाटीमा रहेको केही जग्गा बेचबिखन गरेका छन् । सहकारीले लिलाम सकार गरेका ती जग्गाहरु करोडौँमा बिक्री भए पनि संस्थालाई भने कुनै रकम प्राप्त नभएको सहकारीको उच्च स्रोतले बतायो । गत भदौ ३० गते भैँसेपाटीमा रहेको करोडौँको जग्गा बिक्री गरिएको छ ।

भैँसेपाटीको उक्त जगा लालीगुराँसकै चितवनस्थित फार्ममा ठेक्का पट्टाको काम गर्ने यादवराज सापकोटाले खरिद गरेको बताइएको छ । सहकारीले लिलाम सकार गरेको १३ आना जग्गा आनाको ३५ लाख रुपैयाँको दरले चार करोड ५५ लाखमा बिक्री गरेको स्रोतले जनाएको छ ।

भैँसेपाटीस्थित सैँबु नगरपालिका ९ ‘ख’मा रहेका ती जग्गा बिक्रीमा राजस्व समेत छली भएको सहकारीकै एक सञ्चालकले नाम उल्लेख नगर्ने शर्तमा बताए । त्यस्तै साविक सैँबु ५ ‘क’ हाल ललितपुर वडा नम्बर १८ मा रहेको चार आना जग्गा बिक्री गर्न खोज्दा हालसाबिक गर्न नसकेपछि समस्या भएको छ । जग्गा किन्न ठिक्क परेका रेशम पाख्रिनलाई वडाकै कर्मचारीले अवरोध गरिदिएपछि सुरेन्द्रलाई तनाव भएको छ । उक्त जग्गा आनाको ४५ लाखका दरले बिक्री गर्ने तयारी गरिएको थियो । तर, वडाका कारण अवरोध भएको स्रोत बताउँछ ।

‘उहाँले सहकारीको सबै सम्पत्ति बिक्री गरेर भाग्ने तयारी गरेको भन्ने सुनेका छौँ । सबै सम्पत्ति बिक्रीको तयारी गरिएको छ । केन्द्रीय कार्यालय भवन समेत बिक्री गरिसकिएको छ’, स्रोतले भन्यो, ‘कुमारीपाटीमा रहेको समस्याग्रस्त अवस्थामा पुगेको स्टार सहकारीसँग मर्ज गरेर सोही सहकारीको भवन कब्जा गरेर केन्द्रीय कार्यालय राख्ने सुरेन्द्रको तयारी छ ।’ केही दिनअघि मात्रै स्टार सहकारीसँग मर्ज गर्ने प्रारम्भिक सम्झौता भएको थियो ।

हाल केन्द्रीय कार्यालय रहेको पुल्चोकस्थित भवन दुई सय वर्ष पुरानो समय् फल्चा मिचेर निर्माण गरिएको पाइएपछि ललितपुर महानगरपालिकाले भवनको अगाडि नै फल्चा निर्माण गरिदिएको थियो । यस विषयमा विभिन्न अदालतमा मुद्दा समेत छ । भण्डारीले उक्त भवनमा एउटा काउन्टर राखेर आफूहरु थसिखेल जानलागेको बताउँदै आएका छन् । ‘यो भवनको अघिल्लो भागमा फल्चा निर्माण भएपछि दक्षिण तर्फबाट भित्र प्रवेश गर्न मिल्छ । अझै खुला बनाउन पनि सकिन्छ । तर, सुरेन्द्रले यो भवन बेच्नै जोड गरिरहेका थिए’, ती सञ्चालक भन्छन्, ‘भवन बिक्रीबाट समेत व्यक्तिगत लाभ लिने उनको तयारी थियो ।’

ती सञ्चालकका अनुसार सहकारीले सबैजसो सम्पत्ति बिक्रीमा राखेको छ । सहकारी बैंकको नाममा आएको करोडौँ रुपैयाँ पनि श्री लालीगुराँस सहकारीमै राखिएको थियो । ती रकम पनि बचतकर्ताले फिर्ता लगेका छन्’, उनी भन्छन्, ‘भित्रभित्रै सबै सम्पत्ति बेचेर सुरेन्द्र भण्डारी भाग्दै छ भन्ने सन्देश गएको छ । उनको व्यवहारले पनि त्यस्तै संकेत गरेको छ ।’

पछिल्लो समय पुल्चोकस्थित श्री लालीगुराँस सहकारी भवनमा बचत रकम फिर्ता माग्नेको भीड छ । तर, रकम दिन नसकेपछि अहिले रकम झिक्न समेत बन्द गरिएको छ । केही दिनअघि एक लगानीकर्ताले त्यहाँ राखेको २० लाख रुपैयाँबराबरको सेयर फिर्ता माग्दा भण्डारीले फिर्ता दिन नमिल्ने भन्दै झपारेर पठाएका थिए । उनले अर्को सेयर किन्ने व्यक्ति ल्याए मात्रै रकम फिर्ता गर्ने भन्दै ती लगानीकर्तालाई हप्तकाएको आर्थिक दैनिकलाई बताए । सेयर र बचत फिर्ता माग्नेको भीड लाग्न थालेपछि सीईओ तथा निर्देशक भण्डारी मोबाइल समेत स्विच अफ गरेर सम्पर्कविहीन भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया