Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतिहार नजिकिएसँगै भारतीय नाकाबाट अवैधरूपमा पटाका भित्रिन थाल्यो

तिहार नजिकिएसँगै भारतीय नाकाबाट अवैधरूपमा पटाका भित्रिन थाल्यो


विराटनगर । हिन्दूूहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै मोरङलगायत सीमा नाकाका विभिन्न जिल्लामा अवैधरूपमा भारतीय नाकाबाट विस्फोटक पदार्थ पटाका भित्रिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पछिल्लो एक हप्तामा मात्रै अवैधरूपमा भित्रिएको करिब २० लाख रूपैयाँबराबरको पटका पक्राउ समेत गरिसकेको छ । तिहारका लागि अवैधरूपमा पटका भित्रिँदा समेत नेपाल–भारतको सीमा सुुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको बीओपी युनिटहरू भने बेखबरजस्तो बनेको छ । तर अवैध नाकाबाट धमाधम नेपाल भित्रिएका त्यस्ता विस्फोटक पदार्थ नेपाल प्रहरीले भने पक्राउ गर्न थालेको छ । प्रहरीले पटका पक्राउ गर्न थालेपछि मोरङ जिल्लामा रहेको भारतीय सीमानाकाबाट सशस्त्र प्रहरीकै सेटिङमा पटाका भित्रिएको अनुमान लगाउन थालिएको छ ।

पछिल्लो एक हप्तामा मात्रै नेपाल प्रहरीले नेपाल भारतबीचमा रहेका अवैध नाकाहरूबाट करिब २० लाख मूल्यबराबरको पटाका नेपाल भित्रिएको अवस्थामा पक्राउ गरेको जनाएको छ । यो पटाका पक्राउ प्रकरणले पनि मोरङ जिल्लामा रहेका नेपाल–भारत सीमानाकाहरूको सुरक्षा गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीको बीओपीसँग अवैध कारोबार गर्ने व्यक्तिहरूसँग कस्तो सेटिङ छ भन्ने कुरालाई प्रहरीले उजागर गरिदिएको स्थानीय बासिन्दाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पटाका विशेषगरी तिहार र तराईवासीको छठपर्वमा बढी प्रयोग हुने भएकाले अवैध नाकाबाट भित्रिने क्रम सुरु भएको जानकारी दिए । पछिल्लो समय नेपाल र भारतका बीचमा रहेका नाकाबाट अवैधरूपमा पटाका भित्रिने क्रम सुरु भएको उनको भनाइ छ ।

मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठका अनुसार मोरङको रंगेली नगरपालिका र विराटनगर महानगरको विभिन्न स्थानबाट गएको हप्तामा पहिलो पटक आठ लाख ४९ हजार रूपैयाँबराबरको पटाका र विद्युतीय सामग्री बरामद गरिएको थियो । त्यसैगरी मंगलबार पनि पुनः रंगेली नगरपालिका ४ चोप्राहा नाका हुँदै अवैधरूपमा भित्रिएको करिब दुई लाख ७२ हजार रूपैयाँबराबरको पटाका पनि बरामद भएको थियो । सोही क्रममा नेपाल प्रहरीले एक सय सात बन्डल विभिन्न प्रकारका पटाका पनि बरामद गरेको जानकारी प्रवक्ता श्रेष्ठले दिए । यस्तै मोरङ प्रहरीले सोमबार बेलुका पनि विराटनगर महानगरपालिका १२ मा भारतबाट भन्सार छली भित्र्याइएको पाँच लाख ७७ हजार रूपैयाँबराबरको पटाका नियन्त्रणमा लिएको थियो ।

विद्युतीय सामग्री ल्याउँदै गरेको सूचनासँगै जाँचबुझ गर्ने क्रममा मोरङ प्रहरीले मारुती भ्यानमा विद्युतीय सामग्रीसहित पटाका फेला पारेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उक्त अवैध सामानसँगै को १ च ३१७८ नम्बरको मारुती भ्यान र चालक ३९ वर्षीय धनकुमार भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार पनि मोरङ प्रहरी रंगेली नगरपालिका ९ बाट करिब एक लाख ५० हजार मूल्यबराबरको पटाकासहित प्र १ – ०२ – ००२ ह नम्बरको अटोरिक्सा र सुनबर्सी नगरपालिका ८ बस्ने ३० वर्षीय जीतेन्द्र राजवंशीलाई पनि नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया