Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहेन्द्रनगर बजार क्षेत्रको जग्गा कब्जा गर्ने ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

महेन्द्रनगर बजार क्षेत्रको जग्गा कब्जा गर्ने ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा ३७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले महेन्द्रनगर नगर विकास समितिका तीन जना तत्कालीन अध्यक्षसहित ३७ जना विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ बमोजिम र बोर्ड बैठकको निर्णयबमोजिम उपलब्ध गराउनुपर्नेमा अध्यक्षहरूको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरू जग्गा उपलब्ध गराएको देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सो कार्यमा संलग्न तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरू, समितिमा कार्यरत कर्मचारीहरू र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरू, कित्ताकाट प्रक्रियामा संलग्न नापी कार्यालयका कर्मचारीहरू तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरूलाई कसुरअनुसारको सजाय मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले महेन्द्रनगर बजार क्षेत्रको छ सय ३८ बिघामध्ये पाँच सय ७३ बिघा जग्गा हिनामिना भएको बारे अख्तियारले लामो समयदेखि छानबिन गरिरहेको थियो । आयोगले २०७९ वैशाखमा ११ मा पनि सो जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । बुधबार भने आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी र सदस्य–सचिव चन्द्रप्रसाद चौधरीसहित ३७ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ ।

आयोगले नगर विकास समितिका अध्यक्षहरू गोपाल रसाइलीविरुद्ध आठ लाख ५० हजार रूपैयाँ, पल्टु राना विरुद्ध ३७ लाख ९२ हजार रूपैयाँ र पुस्कर चौधरीविरुद्ध तीन लाख ७४ हजार रूपैयाँ बिगो कायम गरी जरिवाना र थप कैद सजाय माग गरेको छ । यस्तै तत्कालीन सदस्य–सचिव चन्दै प्रसाद चौधरीविरुद्ध पाँच लाख १४ हजार, नगरको नायब सुब्बाविरुद्ध ६३ लाख २२ हजार, अमिन तुलादत्त विष्टविरुद्ध ४६ लाख ४२ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कन्चनपुरका तत्कालीन प्रमुख मालपोत अधिकृतहरू कृष्णकुमार निरौलाविरुद्ध आठ लाख ५० हजार, विसनसिंह थापाविरुद्ध ४६ लाख ८१ हजार, असोककुमार भण्डारीविरुद्ध १६ लाख ४० हजार र शंकर बहादुर विष्टविरुद्ध १६ लाख ८० हजार रूपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै सो कार्यमा संलग्न अन्य व्यक्तिहरूलाई पनि कसुरअनुसारको बिगो कायम गरी जरिवाना र कैद सजायको लागि मागदाबी गरिएको आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२८ लाख घुससहित इञ्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुस रकम सहित रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर र पलक्बरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् ।

उनीहरूलाई आयोगले बुधबार १६ लाख रुपैयाँ नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनीहरूलाई खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको, टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको आयोगद्धारा जारी विज्ञेप्तीमा उल्लेख छ । उनीहरूलाई नगद चेक लिइसकेका अवस्थामा उक्त रकम र चेकसहित मन्थली– १ स्थित इञ्जिनीयरको निवासबाटै नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया