Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा कोरियाली लगानी र प्रविधि भि-याउन आग्रह

नेपालमा कोरियाली लगानी र प्रविधि भि-याउन आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा कोरियाली लगानी र प्रविधि भित्र्याउनका लागि दक्षिण कोरियाका उद्योगी तथा व्यवसायीसँग आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वको प्रतिनिधिमण्डलसँग महासंघले उक्त आग्रह गरेको हो । भेटमा नेपाल कोरियाबीच रहेको आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधिका बारेमा छलफल भएको थियो । भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए । दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभवसमेत ल्याउन सहज हुने हुँदा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा सहयोग गर्न उनले आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष ढकालले बाह्य लगानी ल्याउनेमा निजी क्षेत्रले सरकारलाई निरन्तर झक्झक्याइरहेको र सोहीअनुसार बाह्य लगानीसँग सम्बन्धित महत्वपूर्ण ऐन कानुनहरू संशोधनसमेत भइसकेको जानकारी गराएका थिए । नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा आफूहरूले गरेको उनको भनाइ थियो ।

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी सो भेटवार्तामा महासंघका तर्फबाट कोरियन उत्पादनमूलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भइरहेकाले स्वच्छ ऊर्जाको राम्रो प्रबन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो । सो अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैँ तयार रहेको बताए । महासंघले दिएका सुझावको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वास समेत उनले दिलाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया