Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४८ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

४८ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली निर्वाचित


काठमाडौं । बुधबार रातिसम्म निर्वाचन आयोगले ४२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार सबैभन्दा अगाडि नेपाली कांग्रेस छ भने दोस्रोमा नेकपा एमाले छ ।

बुधबार रातिसम्म नेपाली कांग्रेसले २२ निर्वाचन क्षेत्रमा जित निकालेको छ भने एमालेले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार, नेकपा माओवादी केन्द्रले तीन, नेकपा एकीकृत समाजवादीले दुई, जनता समाजवादी पार्टी नेपालले एक, राप्रपाले एक, स्वतन्त्रले एक, लोकतान्त्रिक समाजवादी पार्टीले एक र नागरिक उन्मुक्ति पार्टीले एक गरी ४२ स्थानको परिणाम सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्रमशः डडेल्धुरा र झापा–५ बाट निर्वाचित भएका छन् ।

आयोगका अनुसार कांग्रेसका रामहरि खतिवडा, विश्वप्रकाश शर्मा, अजयकुमार चौरसिया, रमेश रिजाल, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, राजेन्द्र कुमार केसी, वीरबहादुर बलायर, मोहन आचार्य, उदयशमशेर जबरा, राजेन्द्र बजगाईँ, शंकर भण्डारी, टेकबहादुर गुरुङ, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, हृदयराम थानी, पुष्पबहादुर शाह, रमेश लेखक र दिलेन्द्र प्रसाद बडूले निर्वाचन जितेका छन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष ओलीसहित अम्बर बहादुर रायमाझी, देवराज घिमिरे, योगेशकुमार भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्टले जितेका छन् । त्यस्तै राजकुमार गुप्ता, सूर्य थापा, टोपबहादुर रायमाझी पृथ्वीसुब्बा गुरुङ र बासुदेव घिमिरे पनि विजयी भएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् भने माओवादीका लेखनाथ दाहाल, देवेन्द्र पौडेल र पूर्णबहादुर घर्ती मगरले निर्वाचन जितेका छन् ।

नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ र शेरबहादुर कुँवर, जनता समाजवादीका प्रदीप यादव, राप्रपाका धवलशमशेर जबरा, स्वतन्त्र उम्मेदवार लालवीर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले निर्वाचन जितेको औपचारिक घोषणा भएको छ ।

प्रधानमन्त्री देउवा सातौ पटक संसद्मा निर्वाचित भएका हुन् । उनी २०४८ सालदेखिका सबै निर्वाचन निर्वाचित हुँदै आएका छन् । एमालेका अध्यक्ष ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएका हुन् । उनी छैटौँ पटक संसद्मा प्रवेश भएका छन् । अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा निर्वाचित भइसकेका थिए । अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिस्पर्धी खगेन्द्र पाण्डव अधिकारीले २३ हजार सात सय ४३ प्राप्त गरे ।

केही स्थानमा अन्तिम गणना भइरहेको आयोगले जनाएको छ । प्रदेश र समानुपातिकको मत पनि गणना जारी रहेको आयोगले जनाएको छ । बिहीबारसम्म धेरै स्थानको अन्तिम परिणाम आउने छ । दोलखा, बाजुरालगायतका जिल्लाका केही मतदानस्थलमा पुनः मतदान गर्ने वा नगर्ने भन्नेबारे आयोगले बिहीबारसम्म निर्णय लिने अपेक्षा गरिएको छ । आयोगको टोलीले बुधबार दोलखाका बुथकब्जा गरिएका भनेर विवादित स्थानको अवलोकन गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया