Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूप मतगणना : प्रतिनिधिसभाका १० निर्वाचन क्षेत्रको टुङ्गो

सूप मतगणना : प्रतिनिधिसभाका १० निर्वाचन क्षेत्रको टुङ्गो


महेन्द्रनगर । जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म १० वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँचवटा निर्वाचन क्षेत्र रहेका छन् भने कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेको छ ।

यहाँ दश निर्वाचन क्षेत्रको निर्वाचन नतिजा भए पनि एक निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया रोकिएको छ भने पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ पटक निर्वाचनमा विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल र नेपाली कांग्रेस वीपीका नेता कर्ण मल्ललाई पराजित गरे । विसं २०४८ यता डडेल्धुराबाट निरन्तर निर्वाचनमा जित्दै आएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई यस पटक सत्ता गठबन्धन दलको दरिलो साथ समेत थियो ।

त्यसैगरी नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं सत्ता गठबन्धनका उम्मेदवार वीरबहादुर बलायर कैलाली निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भए । पूर्वमन्त्रीसमेत रहेका बलायरले यसअघि २०७० सालको निर्वाचनमा डोटीबाट निर्वाचन जितेका थिए । विसं २०७४ मा तत्कालीन नेकपा एमालेका (हाल एकीकृत समाजवादी पार्टी) नेता प्रेम आलेसित पराजित भएका नेता बलायरले यस पटक भने सत्ता गठबन्धनका कारण कैलाली सर्नुपरेको थियो । निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री लेखराज भट्टलाई पराजित गर्दै बलायर निर्वाचित भएका हुन् ।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका नेता गङ्गाराम चौधरी निर्वाचित भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिए । उनका अनुसार चौधरीले सत्ता गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता कृष्णकुमार चौधरीलाई पराजित गरे । कैलालीमा निर्वाचन क्षेत्र नं १, २ र ५ को गणना भइरहेको छ । त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्री नारायणप्रकाश साउद निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता साउदले नेकपा (एमाले) का नेता नरबहादुर धामीलाई पराजित गर्दै आफू निर्वाचित भए । विसं २०७४ को निर्वाचनमा एमाले उम्मेदवार धामीसित पराजित भएका कांग्रेस नेता साउद २०७० सालमा पनि निर्वाचित भएका थिए ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पनि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक फराकिलो मतान्तरले निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार निरुदेवी पाललाई पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लेखक यहाँबाट तेस्रो पटक निर्वाचित भएका हुन् । नेता लेखक २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार डा. दीपकप्रकाश भट्टसित झिनो मतले पराजित भएका थिए । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अहिले निर्वाचन क्षेत्र नं १ को गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेता बिना मगर जारी गणनामा पछि परेकी छिन् । नेकपा (एमाले)का उम्मेदवार पूर्वप्रदेश सरकारका मन्त्रीसमेत रहेका तारालामा तामाङले यहाँ सुरुवातदेखि अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं १ मा यसअघि माओवादी केन्द्रकी नेत्री बिना मगर निर्वाचित भएकी थिइन् ।

त्यसैगरी दुई निर्वाचन क्षेत्र रहेको अछाममा सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । अछाम निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता एवं श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर निर्वाचित भएका छन् । सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले)बाट झपट बोहरा उम्मेदवार थिए । उक्त क्षेत्र नेकपा (एमाले)का नेता डा भीम रावलको क्षेत्र पनि हो । त्यसैगरी अछाम निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित भए । यहाँ कांग्रेस नेता शाहले एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई पराजित गरी २३ वर्षपछि उक्त क्षेत्रमा कांग्रेसलाई विजयी बनाए ।

त्यसैगरी डोटी र बझाङमा पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेताद्वय प्रेम आले र भानुभक्त जोशी निर्वाचित भए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया