Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिमा सहकार्य गर्न आग्रह

नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिमा सहकार्य गर्न आग्रह


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग आग्रह गरेको छ ।

नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा आईएमएफका नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गर्दै सीबीफिन सहकार्य गर्न आग्रह गरेको हो । सीबीफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवाशुल्क, ब्याजदर, लगानीयोग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सिर्जना हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । छलफलमा आईएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको बताइन् । संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खलबलिँदा ब्याजदर समेत उच्च भई मुद्रास्फीति बढेको उनको भनाइ थियो । वर्तमान विषम परिस्थितिलाई सहज बनाउनका लागि सबै देशहरूले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उनले बताइन् ।

नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको बीचमा रहेकोले नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरूको निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने उनको सुझाव थियो । छलफलमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरूको ननफन्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरू आफैँ पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

यस्तै सीबीफिनका अध्यक्ष पवन कुमार गोल्यानले कम उत्पादनमूलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गर्दै, त्यसको प्रत्यक्ष असर आयातमा परेको बताए । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरूको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरूको निर्यात प्रवर्द्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमा मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रहरूमा आईएमएफ र सीबीफिनवीच पारस्पारिक सहयोग र सहकार्य अत्यावश्यक रहेको औँल्याए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया