Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथानकोटको सरकारी जग्गा कब्जा प्रकरण 

थानकोटको सरकारी जग्गा कब्जा प्रकरण 


काठमाडौं, फागुन २९
काठमाडौंको थानकोटको सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेसहित १५ जनालाई सोधपुछका लागि बुधबार सातदिने सार्वजनिक सूचना जारी गरेको छ ।

अख्तियारले बुधबार सरकारी मुखपत्र गोरखापत्रमा सातदिने सार्वजनिक सूचना जारी गरी उनीहरुलाई आयोगको २ नम्बर अनुसन्धान महाशाखामा सम्पर्क राख्न भनेको छ । अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ बमोजिम त्यसरी सातदिने सार्वजनिक सूचना जारी गरिएको हो । सात दिनभित्र अख्तियारमा हाजिर हुन नगएमा कानुनबमोजिम थप कारबाही अगाडि बढाइने अख्तियारले जनाएको छ ।

मकवानपुर जिल्लाको साविक चित्लाङ गाविस–८ र हालको थाहा नगरपालिका–९ का स्थायी बासिन्दा लामिछानेले काठमाडौंको थानकोट, ३क को कित्ता नम्बर ४३७ को एक रोपनी चार आना सरकारी जग्गा आफ्नो नाममा गराएको अख्तियारको दाबी छ । थानकोटको सरकारी जग्गा नेपाल ट्रष्टको नाममा आउनुपर्नेमा केही व्यक्तिले आफ्नो बनाएको ट्रष्टले केही दिनअगाडि सार्वजनिक गरेको श्वेतपत्रमा पनि उल्लेख गरिएको छ ।

अख्तियारका अनुसार लामिछानेसहित हालको भीमदत्त नगरपालिका–११ को मौसमी पाठक, बाराको निजगढ नगरपालिका–१ का ज्ञानबहादुर खत्री, सर्लाहीको हरिऔन नगरपालिका–३ का सावित्रा कुमारी सिन्जाली, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का छत्र कुमारी बस्नेत, थाक्रे गाउँपालिका–२, धादिङका कान्छी थापा, काठमाडौ–१३ का किरण कृष्ण जोशी, पर्वतको फलेबास नगरपालिका–५ का नारायण प्रसाद भुसाल, बरहथवा नगरपालिका–९ सर्लाहीका ओमबहादुर गुरुङ, धुनिबेसी नगरपालिका–५ धादिङका श्याम कृष्ण बस्नेत, चन्द्रागिरि नगरपालिका–२ का बिसुराम बस्नेत र स्थायी ठेगाना नखुलेका केदार बस्नेत, चन्द्रागिरि नगरपालिका–२ का प्रेमबहादुर बस्नेत र जयपृथ्वी नगरपालिका–४ बझाङका मनिराम उपाध्यायलाई समेत सात दिनभित्रमा अख्तियारमा हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरिएको छ ।

फलेबास नगरपालिका–५ पर्वतका नारायण प्रसाद भुसालले भने थानकोट, ३कको कित्ता नम्बर ७६५ र ४३९को क्रमशः एक रोपनी एक आना र एक रोपनी गरी दुई रोपनी एक आना सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको दाबी गरिएको छ । अख्तियारले जग्गाधनीको साथै तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका खरिदार बिन्दुभक्त रञ्जितकारलाई पनि सात दिनभित्रमै हाजिर हुन आउन अख्तियारले सार्वजनिक सूचना जारी गरेको छ ।

अख्तियारका अनुसार मौसमी पाठकले थानकोट, ३क को कित्ता नम्बर८२२ को दश आना, ज्ञानबहादुर खत्रीले थानकोट, ३क को कित्ता नम्बर ७९२ को तीन आना, सावित्रा कुमारी सिञ्जालीले थानकोट, ३क को कित्ता नम्बर ७९४ को दुई आना दुई पैसा, छत्र कुमारी बस्नेतले थानकोट, ३क को कित्ता नम्बर ७६७ र ७६८ को क्रमशः छ आना र १० आना, कान्छी थापाले थानकोट, ३क को कित्ता नम्बर ८३० को एक रोपनी, किरण कृष्ण जोशीले थानकोट, ३क को कित्ता नम्बर ४४४ को तीन रोपनी तीन आना, ओमबहादुर गुरुङले थानकोट, ३क को कित्ता नम्बर ८२५ को चार आना र ८२४ को चार आना तीन पैसा, श्याम कृष्ण बस्नेतले थानकोट, ३क को कित्ता नम्बर ७७० को ११ आना, विसुराम बस्नेतले थानकोट, ३क को कित्ता नम्बर ७६६ को एक रोपनी १४ आना, प्रेमबहादुर बस्नेतले थानकोट, ३क को कित्ता नम्बर ८३१ को दुई रोपनी १५ आना २ पैसा र कित्ता नम्बर १ को १४ रोपनी दुई आना तथा मनिराम उपाध्यायले थानकोट, ३कको कित्ता नम्बर ८२३ को पाँच आना सरकारी जग्गा व्यक्तिगत बनाएको आरोप अख्तियारको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया