Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्र सुधारोन्मुख, व्यापारघाटामा १८ प्रतिशतले कमी

अर्थतन्त्र सुधारोन्मुख, व्यापारघाटामा १८ प्रतिशतले कमी

शोधनान्तर स्थिति ४५ अर्बले बचतमा


काठमाडौं, सरकारले विगतमा गरेको विलासी वस्तुहरुको आयातमा कडाइको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको प्रतिवेदनअनुसार वैदेशिक व्यापारघाटामा कमी आएको छ भने छ भने शोधनान्तर स्थिति बचतमा देखिएको छ ।चालू आवको पाँच महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहनु, वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् विप्रेषण आप्रवाह (रेमिट्यान्स) रकम बढ्नु, व्यापारघाटामा कमी आउनुले पनि अर्थतन्त्र सुधारोन्मुख दिशातर्फ उन्मुख भएको देखिएको हो ।

राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आवको पछिल्लो पाँच महिनामा कुल वस्तु निर्यात ३४ दशमलव छ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय पाँच दशमलव छ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३ दशमलव सात प्रतिशत र ३५ दशमलव नौै प्रतिशतले कमी आएको आउँदा अन्य मुलुकतर्फको निर्यात सात दशमलव एक प्रतिशतले बढेको देखिएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, अलैंची, चियालगायतका वस्तुको निर्यात बढ्दा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा कुल वस्तु आयात २० दशमलव सात प्रतिशतले घटेर छ खर्ब ६४ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २० प्रतिशत, २२ दशमलव छ प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्ट्सलगायतका वस्तुको आयात बढे पनि सवारीसाधन तथा स्पेयर पार्ट्स, एमएस बिलेट, चाँदी, औषधि, कच्चा सोयाबिन तेललगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात भने घटेको देखिएको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा पनि कमी आएको छ । सो अनुसार चालू आवको पाँच महिनामा कुल वस्तु व्यापारघाटा १८ दशमलव आठ प्रतिशतले घटेर पाँच खर्ब ९७ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४ दशमलव सात प्रतिशतले बढेको थियो ।

चालू आवको पाँच महिनामा निर्यात–आयात अनुपात १० दशमलव एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव तीन प्रतिशत रहेको थियो । चालू आवको पाँच महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५० अर्ब २० करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९२ अर्ब ३४ करोडबराबरको भएको राष्ट्र बैंकको भनाइ छ ।

खुद सेवा आय २६ अर्ब ६८ करोडले रुपैयाँले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३८ अर्ब १३ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय ३२ दशमलव नौ प्रतिशतले वृद्धि भई २३ अर्ब ६३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब १४ करोड रहेको थियो । चालू आवको पाँच महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६४ प्रतिशतले वृद्धि भई ४२ अर्ब आठ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय २८ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ६५ करोड रहेकोमा शिक्षातर्फको व्यय १३ अर्ब ५३ करोेड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब रेमिट्यान्स
। वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम चालू आवको पछिल्लो पाँच महिनाको बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको प्रतिवेदनअनुसार रेमिट्यान्स २३ प्रतिशतले बढेर चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव छ प्रतिशतले वृद्धि भई पाँच खर्ब ३० अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा चालू खाता भने ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५१ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५ दशमलव तीन प्रतिशतले कमी आई तीन अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब सात करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको सञ्चितिमा सुधार ,वर्तमान सञ्चिति आठ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त : राष्ट्र बैंक
विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पाँच महिना अर्थात् यही मंसिर मसान्तसम्मको प्रतिवेदनअनुसार विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो ।

प्रतिवेदनअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव तीन प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा तीन प्रतिशतले वृद्धि भई नौ अर्ब ८२ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा सात दशमलव आठ प्रतिशतले वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा तीन दशमलव आठ प्रतिशतले कमी आई एक खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको छ । चालू आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र आठ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख छ ।

No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया