Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ महिने व्यापारका सबै सूचक ऋणात्मक

छ महिने व्यापारका सबै सूचक ऋणात्मक


काठमाडौं । नेपालले अन्य मुलुकसँग गर्ने व्यापारका सबै सूचक ऋणात्मक छन् । आयातनिर्यातमा कमी आएसँगै व्यापारघाटा र कुल वैदेशिक व्यापारमा पनि कमी आएको हो । योसँगै नेपालको तेस्रो मुलुकसँगको व्यापारका सूचकहरु ऋणात्मक पाइएको हो ।

चालू आर्थिक वर्षको छ महिनाको अवधिमा नेपालले भारत, चीनलगायतका तेस्रो मुलुकसँग गर्ने व्यापारघाटामा ३२ प्रतिशतले कमी आएको छ । छ महिनाको अवधिमा व्यापारघाटामा ३२ प्रतिशत अर्थात् सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँले कमी आएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापारघाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँमा सीमित थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको छ महिनाको अवधिमा आयात २१ प्रतिशत अर्थात् सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयात नौ खर्ब ९९ अर्ब ३४ करोडमा सीमित रहेको थियो । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्स, एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाललगायतका वस्तुहरु प्रमुख आयात हुने सामग्रीहरु हुन् । समीक्षा अवधिमा डिजेल ६१ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ, पेट्रोल २९ अर्ब २७ करोड २५ लाख रुपैयाँ, खाना पकाउने ग्यास २८ अर्ब २० करोड ३४ लाख रुपैयाँ, भटमासको तेल (कच्चा) २३ अर्ब ७५ करोड ४९ लाख रुपैयाँ, कच्चा पाम तेल १६ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ, मोबाइल १३ अर्ब ९८ लाख र सुन १० अर्ब ९५ करोड ७१ लाख रुपैयाँको आयात गरिएको छ ।

चालू आर्थिक वर्षको छ महिनाको अवधिमा निर्यात ३२ प्रतिशतले कमी आएको छ । छ महिनाको अवधिमा ८० अर्ब ८० करोड रुपैयाँमा सीमित रहेको छ । अघिल्लो आर्थिक वर्षकोे छ महिनाको अवधिमा एक खर्ब १८ अर्ब १९ करोड रुपैयाँमा सीमित रहेको थियो ।

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, जिंक शिट, अलैंची, चिया, औषधी (आयुर्वेदिक) लगायतका वस्तु प्रमुख निर्यातजन्य सामग्री हो । समीक्षा अवधिमा प्रशोधित पाम तेल (न्यून कच्चा पदार्थसहित) १३ अर्ब आठ करोड ८२ लाख रुपैयाँ, प्रशोधित भटमासको तेल आठ अर्ब ९८ लाख रुपैयाँ, सेन्थेटिक यार्न पाँच अर्ब २७ करोड रुपैयाँ, कार्पेट (गलैँचा) पाँच अर्ब ४६ करोड रुपैयाँ, कपडा चार अर्ब ६७ करोड ६१ लाख रुपैयाँ, फलामजन्य सामग्री चार अर्ब ३९ करोड ४१ लाख रुपैयाँ, अलैँची तीन अर्ब ७३ करोड ५३ लाख रुपैयाँ, फलफूलको जुस दुई अर्ब ६२ करोड ३८ लाख रुपैयाँ र पस्मिना सल एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँको निर्यात गरिएको छ ।

चालू आर्थिक वर्षको छ महिनाको अवधिमा कुल वैदेशिक व्यापारमा २२ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा कुल वैदेशिक व्यापार आठ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँमा सीमित रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँमा सीमित रहेको थियो ।

यस्तै, नेपालले एक सय ४१ मुलुकसँग व्यापार गर्दै आएको छ । तर ती मुलुकहरुसँगको व्यापारमा नेपालले ९० प्रतिशतभन्दा बढी मुलुकहरुसँगको व्यापारमा घाटा व्यहोर्दै आएको पाउन सकिन्छ । नेपालको आयात व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, युक्तने, ब्राजिल, थाइल्याण्ड रहेका छन् । यस्तै नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका मुलुकहरुमा अमेरिका, जर्मनी, बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, टर्की, डेनमार्क, नेदरल्यान्ड्स, क्याम्बोडिया प्रमुख रुपमा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया