Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमल्टिमिडीयाआमसञ्चारसँग सम्बन्धित कानूनबारे ध्यानकर्षण गराउन आग्रह

आमसञ्चारसँग सम्बन्धित कानूनबारे ध्यानकर्षण गराउन आग्रह


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आमसञ्चारमाध्यमसँग सम्बन्धित विधेयकबारे सांसदहरूको ध्यानाकर्षण गराउन प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका छन् ।

आज यहाँ प्रेस काउन्सिल नेपालद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा आयोजित ‘आमसञ्चार माध्यममा महिलाको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनले भने, “आमसञ्चार माध्यमसम्बन्धी विधेयक छिटो ल्याउन र प्रेस काउन्सिल ऐन संशोधन समयमै गर्नका लागि म व्यक्तिगत र संस्थागतरूपमा सुझाव लिन तयार छु ।”

उनले थपे, “विधेयकबारे छलफल गर्ने र पास गराउने भूमिका सांसदहरूले हो । सांसदसँगै दलका नेता र सम्बन्धित सरोकारवालाकोे ध्यानाकर्षण हुने गरी छलफल तथा अन्तर्क्रिया बढाउन आवश्यक छ ।”उनले पत्रकारितालाई देशको चौथो अङ्ग भन्ने गरे पनि पत्रकारको मूल्याङ्कन हुन नसक्नु चिन्ताको विषय भएको बताए । उनले विशेषगरी महिला पत्रकारको सुरक्षाका विषयमा राज्य सचेत रहेको समेत स्पष्ट पारे ।

अन्तरक्रियामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारसम्बन्धी ऐन र प्रेस काउन्सिल ऐन, २०४८ को संशोधन तत्काल गर्न सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए । उनले भने, “सञ्चारमाध्यमको पुरानो परिभाषाले सञ्चारमाध्यमको नयाँ आयामलाई समेट्न सकेको छैन । काउन्सिलको ऐन र सञ्चारमाध्यमको ऐनलाई तत्काल संशोधन आवश्यक छ ।” उनले सञ्चारमाध्यमलाई महिलामैत्री बनाउन आचारसंहिताको कार्यान्वयन आवश्यक भएको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले समितिले सीमित क्षेत्राधिकारका कारण अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरिन् । “न्यूनतम पारिश्रमिक निर्धारण समितिसँग पत्रकारका अपेक्षा धेरै छन् । तर समितिलाई अनुगमन र सिफारिस गर्नेबाहेक धेरै अधिकार छैन”, उनले भनिन् । न्यूनतम पारिश्रमिक लागू गराउनका लागि समितिलाई थप अधिकार दिनुपर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा महिलाको सहभागिता बढ्दै जानु सकारात्मक भएको धारणा राखे । उनले सङ्ख्यासँगै लैङ्गिकमैत्री वातावरण बनाउनका सबै सरोकारवाला पक्ष लागि पर्नुपर्नेमा जोड दिए ।

सह–प्राध्यापक कुन्दन अर्याल, अधिवक्ता दुर्गा अधिकारी र पत्रकार बबिता बस्नेतलगायतले महिला पत्रकारको सहभागिता बारेमा चर्चा गरेका थिए । अन्तरक्रियामा आमसञ्चारमाध्यममा महिलाको सवाल, महिला पत्रकारको सहभागिता, बौद्धिक हिंसा, कार्यस्थलमा हुने हिंसा र कार्य मूल्याङ्कनको विषयमा छलफल भएको थियो ।रासस


क्याटेगोरी : मल्टिमिडीया, समाचार

तपाईको प्रतिक्रिया