Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकालाबजारीलाई कारबाही भएन कृत्रिम अभाव कायमै

कालाबजारीलाई कारबाही भएन कृत्रिम अभाव कायमै


काठमाण्डौं,चैत १७

विश्वव्यापीरूपमा हावासरी फैलिरहेको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि परेको छ । कोरोना भाइरस संक्रमणको कारण नेपालमा अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन । संक्रमितको संख्या भने नेपालमा नगन्य मात्रामा देखिएको छ । नेपालमा घोषितरूपमा पाँचजना संक्रमित देखिएको भएपनि एकजना संक्रमित निको भएर घर फर्किसकेका छन । संक्रमित देखिएकाहरू पनि विदेशबाट फर्किएकाहरू नै रहेको पाइएको छ । कोरोना संक्रमणकै कारण आइतबारसम्म विश्वभर ३० हजार नौ सय ८२ जनाको मुत्यु भएको छ । संक्रमितको संख्या छ लाख ६९ हजार तीन सय १२ पुगेको छ । यसैगरी संक्रमित भएर उपचारपछि निको भएर घर फर्कनेको संख्या१४ लाख २१ हजार एक सय रहेको छ ।विश्व स्वास्थ्य संगठनले नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको भन्दै सुरक्षा विधि तत्काल अपनाउन निरन्तर दबाब दिएपछि सरकारले एकहप्ताको समय सीमा तोकेर मुलुकभर लकडाउन गरेको छ । मंगलबार बिहान ६ बजेसम्मको लागि लकडाउनको समय रहेपनि त्यसको अवधि बढाउने गृह कार्यमा सरकार लागेको छ ।

छिमेकीमुलुक भारतले एकैचोटी ३ हप्ताको लागि पूरै मुलुकमा लकडाउन गरेकोले पनि नेपाललाई समय थप्न दबाब पर्दै आएको थियो । नेपालमा भने एक हप्ताको लक डाउनले नै पुरै जनजीवन प्रभावित बन्दै गएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव सुरु भइसकेको छ । सरकार दिनानुदिन सिंहदरबारभित्र रहेको पुतली बगैँचामा बसेर जनताले भोग्नुपरेका समस्याका बारेमा बैठक गरेको देखाउँदै फोटोहरू सार्वजनिक गरेर आत्मरतिमा रमाइरहेको छ । सर्वसाधरण जनता भने दैनिकरूपमा भान्छामा प्रयोग हुने उपभोग्य सामग्री नपाएर भोकभोकै बस्न बाध्य भएर छटपटाइरहनुपरेको छ ।लकडाउन भएको भोलिपल्टबाट नै सरकारले जनतालाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीको अभाव हुन नदिने भनेपनि एक महिनादेखि नै सर्वसाधरणले सहजरूपमा ग्यास पाउन सकिरहेका छैनन । दिनका दिन स्वास्थ्य, उद्योग, पर्यटन, आपूर्ति र ऊर्जामन्त्रीले सर्वसाधरण जनतालाई घरमै त्यस्ता सामग्री घरघरमा पु¥याउने घोषणा गरेपनि त्यो घोषणामा नै सिमित बनेको छ । जनतालाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै त्यस्ता दैनिक उपभोग्य सामग्री घरमा पु¥याउने गरी काम गरिहेको सरकारका मन्त्रीहरूले बताउँदै आएका छन् । यसैगरी सरकारले सर्वसाधरण जनतालाई राहत प्याकेज घोषणा गरी सहयोगदिने तयारी गरिरहेको बताएपनि अहिलेसम्म त्यस विषयमा कुनै प्रगति गर्न सकिरहेको छैन ।

दैनिक ज्याला मजदूरी गरेर बिहान बेलुकी हातमुख जोर्नेहरू लकडाउनका कारण काम गर्न नपाएर छटपटाइरहेका छन् । उनीहरू सरकारले दिने भनेको राहत कहिले पाइएला र राम्ररी पेट भरौँला भनेर कुरेर बसेका छन् । तर, आजका दिनसम्म सरकारले यस्ता वर्गलाई लक्षित गरेर राहत घोषणा गर्ने विषयमा कुनै तयारी समेत गरेको पाइएको छैन । बजारमा ग्यासको निरन्तर अभाव भइरदा पनि सरकार भने नआत्तिकन बस्न उपभोक्तालाई आग्रह गरिरहको छ । मुलुकभरका तारे होटल, होटल, रिसोर्ट, रेष्टुरेन्ट, चियापसल सम्पूर्ण बन्द हुँदासमेत उपभोक्ताले सहजरूपमा ग्यास पाउन सकिरहेका छैनन् ।भारतबाट पूरै परिमाणमा ग्यास आयात भइरहेको छ । यता बजारमा भने अभाव भएको महिना भइसक्यो । सरकारले अनुगमन गरेर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरूलाई कारबाही गर्ने भनेर कराइरहेको छ । बढी ग्यास खपत गर्ने निकायहरू बन्द हुँदासमेत सर्वसाधरणले सहजरूपमा दैनिक उपभोग्य वस्तु प्राप्त गर्न सकिरहेका छैनन् । यही कारण जनताले सरकारको कुरा पत्याउन छाडिसकेका छन् । बढी ग्यास खपत हुने होटल व्यवसाय पूरै ठप्प छ । हिजोका दिनमा यी सम्पूर्ण होटलहरू सञ्चालन भएर पनि सबैले सहजरूपमा पाइरहेको ग्यास आज नपाउनुको पछाडिको कारण के हो त ? सरकारले यसबारेमा आफ्नो धारणा बाहिर ल्याउन आवश्यक ठानिरहेको छैन । कालोबजारी गर्नेलाई कारबाही गर्ने भनेर सरकारले डंका पिटिरहेको भएपनि कुनै माखोसमेत मार्न सकिरहेको छैन भन्ने कुरा यी घटनाबाट पुष्टि हुन्छ ।यदि बजारमा सहजरूपमा ग्यास पाउनसक्ने वातावरण थियो भने किन निगमले नै ग्यास उद्योगीहरूलाई आधा सिलिण्डर अर्थात् सात दशमलव एक किलो मात्र भरेर बजारमा पठाउन उर्दी जारी गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया