Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’ले तरकारी र दुध बेच्न नपाउँदा किसान चिन्तित

‘लकडाउन’ले तरकारी र दुध बेच्न नपाउँदा किसान चिन्तित


दोलखा, चैत २४

विश्वभर तीव्ररूपले फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण धेरैजसो किसान चिन्तित बनेका छन् । दोलखाको सदरमुकाम चरिकोट गत १२ दिनदेखि सुनसान बनेको छ ।चरीकोट बजारमा दैनिक आउने तरकारीका भारी र दुधका बाल्टी बजारमा आउन छाडेका छन् भने किसानले सिजनअनुसार लगाएको तरकारीले बजार नपाउदा गाउँमै रोकिएका छन् । तरकारी बारीमै सुक्न थालेको किसानहरू बताउन थालेका छन् । शनिबार बिहान पाँच बजे तरकारीको ढोको बोकेर चरीकोट आएकी भीमेश्वर नगरपालिका ८ की चमेली तामाङ भन्छिन्, ‘बारीभरि तरकारी लगाएको छ, बिक्री गर्ने बेला भयो बजार बन्द छ, खै कसरी लगानी उठाउने चिन्तामाथि चिन्ता थपिएको छ ।’ कोरोना देखा नपरेर लकडाउन नभएको भए आफ्नो बारीको हरियो तरकारी बिक्री गरिसकेको हुने उनले बताइन् । उनले भनिन्, ‘अघिपछि बजारका व्यापारी आफैं गाडी लिएर किन्न आउथे, लकडाउने तरकारी बारीमै सुक्ने भयो ।’

त्यस्तै भीमेश्वर नगरपालिकाको जिलुबाट दैनिक दुई सय लिटर दुध चरीकोट बजारमा खपत हुँदै आएकोमा अहिले बजारका होटलहरू बन्द भएपछि बजार दुध आउन छाडेको छ । भीमेश्वर नगरपालीका जिलुका हरिबहादुर चौलागाईंले दैनिक १५ लिटर दुध बेच्दै आएको भएपनि अहिले विक्री हुन छाडेको बताए । हरिबहादुरजस्तै गरी शनिबार बजार आएका शिव बस्नेतको गुनासो पनि उस्तै छ । ‘बारीमा लगाएको तरकारी बजारमै सुक्ने भयो । चरीकोट बजारमा दुई चारवटा तरकारी पसल खुला छन् । ती पसलले कसको पो तरकारी किन्नुन ?’, उनले भने । चरीकोट बजारका करिब तीन सयवटा होटल अहिले बन्द भएका छन् भने तरकारी पसल पनि फाट्टफुट्ट मात्रै खुलेका छन् । दोलखामा दैनिक दुई सय टनभन्दा बढी तरकारी उत्पादन हुन्छ । त्यो पनि एक सयभन्दा टनभन्दा बढी तरकारी जिल्लाबाहिर खपत हुने तरकारी उत्पादकहरू बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया