Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसडकले निम्त्यायो पहिरो, क्लबसहित तीन घर उठीबास !

सडकले निम्त्यायो पहिरो, क्लबसहित तीन घर उठीबास !


सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङमा क्लब भवनसहित तन घर पहिरोका कारण विस्थापित भएका छन् । सडक विस्तारको क्रममा बढ्दै गएको पहिरोका कारण लोदिङ सिर्जनशील युवा क्लबको भवनसहित तीन घर विस्थापित भएका हुन् ।

पहिरो बढ्दै जाँदा घरहरु समेत चर्किँदै गएपछि स्थानीय हस्तबहादुर विश्वकर्मा र शान्त विश्वकर्माको परिवार विस्थापित भएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए । निरन्तरको वर्षासँगै सडकबाट सुरु भएको पहिरोले घर समेत तान्ने खतरा भएपछि वडाको पहलमा परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष शेर्पाको भनाइ छ । पहिरोले घर जोखिममा परेपछि विश्वकर्माद्वयको परिवारलाई तत्काललाई छिमेकीको घरमा आश्रय लिएर राखिएको छ । घरमुनिबाट खनिएको सल्लेरी–तामाखानी–पिके सडक मर्मतको क्रममा ठेकेदार कम्पनीले बस्तीको ख्याल नगर्दा आफ्नो बास नै उठेको पीडित हस्तबहादुर विश्वकर्माले गुनासो गरे । पहिरोको जोखिम रहेको सो स्थानमा सडक चौडा गर्ने क्रममै कम्पनीलाई सचेत गराएको भए पनि ठेकेदारले मनोमानी डोजर चलाउँदा विपति आइलागेको अर्का पीडित शान्त विश्वकर्माको गुनासो छ ।

विस्थाति परिवारलाई वडा कार्यालयले राहतस्वरुप पाल र बाल्टिन प्रदान गरेको छ । सोही पहिरोले क्लब भवनमा क्षति पुगेको सचिव ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए । भवन पहिरोको चपेटामा परेपछि त्यसभित्र रहेका क्लबको सामग्रीहरु अन्यत्र सारिएको सचिव शेर्पाको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त भट्टराईले पहिरो रोकथाम तथा पीडितको मागलाई सम्बोधन गर्न पूर्वधार विकास कार्यालय ओखलढुंगालाई निर्देशन दिएका छन् । सम्भावित क्षतिलाई रोक्न सबै पक्ष लाग्नुपर्ने भन्दै यस्ता विपतिहरुसँग जुद्न सबै एकजुट हुने समेत प्रजिअ भट्टराईले आह्वान गरेका छन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया