Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविवाद नै विवादमा रुमल्लिएको सरकार

विवाद नै विवादमा रुमल्लिएको सरकार


काठमाडौं, वैशाख १९
सर्वसाधरण जनता लकडाउनको कारण घरभित्रबाट बाहिर निस्कन पाएका छैनन् । यस्तो क्रिटिकल अवस्थामा सत्तारुढ दल नेकपामा दुईजना सांसद र पूर्वप्रहरी प्रमुख भने निर्वाधरूपमा काठमाडौँदेखि जनकपुरसम्म पुगेर अर्का सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं लिएर फर्किए । यो घटनाले कोरोनासँग जुधिरहेको मुलुकको ध्यान अर्कैतिर मोडिदियो । त्यति मात्र होइन सांसद यादव प्रकरणले लकडाउन सर्वसाधरण नागरिकका लागि मात्र लगाइएको रहेछ भन्ने कुरा पनि प्रमाणित गरिदिएको छ ।

सर्वसाधरण नागरिक लकडाउनका कारण सवारी साधनको अभावमा हप्तौ हिँडेर आफ्नो गन्तव्यमा पुग्न बाध्य छन् । कोही भोकभोकै बस्न बाध्य छन । स्थानीय तहले दिने भनेको राहत पनि पाउन सकेका छैनन् । मुलुकभित्र अत्यावाश्यक सेवाबाहेकका अन्य सम्पूर्ण किसिमका गतिविधि ठप्प छन् । यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परिरहेको छ । दैनिकरूपमा चलायामान हुनुपर्ने अर्थतन्त्र बन्दाबन्दीका कारण असहज भएको छ । यस्ता गतिधिहरू कोभिड १९ संक्रमणका कारण रोकिएपछि नेपालको अर्थतन्त्र नै धरापमा पर्ने हो कि भन्ने चिन्ता बढेर गएको छ ।

कोरोना भाइरसले विश्वकै अर्थतन्त्रलाई डामाडोल र धरापमा पारिदिएको छ ।किसानले उत्पादन गरेको दूध, तरकारी बिक्री नभएर त्यसै खेर गइरहेको छ । त्यसैगरी किसान र व्यवसायीले पालेका हाँस, कुखुरा, खसी बोका बिक्री हुन छाडेका छन् । दानाको अभावमा बेच्न तयार भएका कुखुरालाई बिक्री नभएपछि खाल्डो खनेर गाडन विवश छन्, व्यवसायीहरू । ती दृष्यहरू र समाचारहरू पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत बाहिर आइरहेका छन् । सरकारको ध्यान यस्ता विषयमा जान सकिरहेको छैन ।

कोरोना संक्रमण र लकडाउनकोे प्रत्यक्ष मारमा सर्वसाधरण नागरिक परेका छन् । उनीहरूको जीवनयापन कसरी सहज बनाउने भन्ने दायित्व संघीय सरकारको हो । आफ्ना नागरिकले दैनिक भोग्नुपरेको समस्याका बारेमा संघले प्रदेश र स्थानीय सरकारहरूलाई निर्देशन गरेर सहजिकरण गर्दै नयाँ कदम चाल्न निर्देशन गर्न आवश्यक हुन्छ । त्यसैगरी समन्वयकारी भूमिका निर्वाह गर्न संघले सक्रिय भूमिका खेल्न ढिला गर्नुहुदैन । तर, सरकार यो दायित्वबाट विमुख भएर जनताका समस्याभन्दा पनि अराजनीतिक र पार्टीभित्रको आन्तरिक झगडामा बढी केन्द्रित भएपछि ओलोचित बनेको छ । सत्तारुढ दलभित्रको किचलोले मुलुकको सम्पूर्ण जनजीवन नै अस्तव्यस्त बन्न पुगेको छ ।

सर्वसाधरण नागरिक भने बिहान बेलुकीको गुजारा र छाक टार्न नसकेर रुवाबासी गर्नुपरेको अवस्था छ । कतिपय सर्वसाधरण नागरिकहरू त कुन ठाउँमा कुन संघसंस्थाले निःशुल्क भोजनको व्यवस्था गरेको छ भन्दै त्यातिर गएर पेट भर्न बाध्य छन् । मुलुकभित्र यस्तो विषम परिस्थिति सिर्जना हुँदा पनि नेपाली जनताका अभिभावकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान यताभन्दा पनि अध्यादेश ल्याएर मुलुकलाई विवादित बनाउन उद्धत देखिएका छन् । सांसद अपहरण प्रकरणले मुलुकको ध्यान नै अर्कोतिर मोडिदिएको छ । त्यति मात्र होइन यो गन्धा धन्दाले मुलुक नै बदनामी भएको छ ।

नोबल कोरोनाका कारण सम्पूर्ण विश्वको ध्यान रोग नियन्त्रणतर्फ केन्द्रित भइरहेको छ । आ–आफ्ना नागरिकको ज्यान कसरी बचाउने भन्ने ध्याउन्नमा लागेका छन् । तर, मुलुककै शक्तिशाली कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओली संक्रमण निययन्त्र गर्नतिरभन्दा पनि अर्काे राजनीतिक दल फुटाएर आत्मरतिमा रमाउन लागेको कुराले मुलुकलाई नै विभाजित बनाएको छ । यस घटनाले ‘अरुलाई के धन्दा घरज्वाइँलाई खानाको धन्दा’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने काम गरेको छ ।

विकसित मुलुकहरू कोरोना नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गर्न अध्ययन अनुसन्धानमा लागिपरेका छन् । तर, नेपाल परीक्षण गर्ने किटसम्म समयमा ल्याउन नसकेर सेनासँग गुहार मागिरहेको छ । ल्याएको किट पनि काम लाग्ने किसिमको नरहेको भन्दै सरकारको आलोचना भइरहेको छ । स्वास्थ्य सामग्री खरिदमा पनि सरकारी तवरबाटै अनियमिता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x