Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेचासल्यानमा देखिएको आउँको कारण दूषित खानेपानी

नेचासल्यानमा देखिएको आउँको कारण दूषित खानेपानी


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २६
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा देखिएको झाडापखला तथा आउँ दूषित खानेपानीमा कारण फैलिएको बताइएको छ । खानेपानीका कारण नेचासल्यानको वडा नम्बर २ नयाँचौतारा नेवार बस्तीका स्थानीयमा देखिएको आउँ दूषित खानेपानीका कारणले फैलिएको चिकित्कसले बताएका छन् । केही दिन अगाडि एकै परिवारका चार जनासहित गाउँको अन्य व्यक्तिमा पनि आउँ देखिएपछि त्यस क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गरिएको थियो ।

सल्यान प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर अभिषेक सुमनका अनुसार स्थानीयले प्रयोग गर्ने खानेपानीको मुहान दूषित रहेको पाइएको छ । सोही खानेपानीका कारण झाडापखला फैलिएको उनले बताए । गाईवस्तुले खाने पानी र मानिसले समेत प्रयोग गर्ने पानीको मुहान एउटै हुँदा समस्या देखिएको उनको भनाइ छ । आउँको समस्या भएका २२ जना र कमलपित्तका १६ जनाको सल्यान प्राथमिक स्वास्थ्य केन्द्रको निगरानीमा उपचार भइरहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक युवराज शर्माले जानकारी दिए । अन्य केही बिरामीलाई पनि औषधि वितरण गरिएको केन्द्रको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसहितको टोलीले घरैमा गएर चेकजाँच गरी औषधि वितरण गरेको जनाएको छ । अहिले बिरामीको अवस्था सामान्य बन्दै गएकाले डराउनु पर्ने अवस्था नभएको बताइएको छ । वडा अध्यक्ष भेषकुमार बास्तोलाका अनुसार त्यस क्षेत्रमा खानेपानीको समस्या रहँदै आएको छ । साबिक सल्यान १ र ३ का स्थानीयले प्रयोग गर्ने तीनवटा खानेपानीको मुहानमध्ये एउटा मुहान दूषित रहेको बताइएको छ । बर्खामा पर्याप्त खानेपानी भए पनि हिउँदमा भने मुहान सुक्दा समस्या हुने गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको भनाइ छ । अध्यक्ष बास्तोलाले त्यस क्षेत्रमा पम्पिङ प्रणालीबाट खानेपानी वितरण गर्ने योजना रहेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x