मदिरा सेवनका कारण तीन दिनमा नौवटा घटना, दुईको मृत्यु
खोटाङ । खोटाङमा मादकपदार्थ सेवन गरेर लट्ठ परेका ४३ वर्षीय पुरुषले कात्तिक १० गते दिउँसो घरमा बसिरहेकी १३ वर्षीय बालिकालाई बलात्कारको प्रयास गरे । आफ्नै दिदीले देखेर हो–हल्ला गरेपछि बालिका बलात्कृत हुनबाट जोगिइन् । अभियुक्तलाई तत्काल प्रहरी चौकी दोर्पाचिउरीडाँडाले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
यस्तै मादकपदार्थले होस गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको लालीखर्कस्थित फलाँटेका दावा शेर्पाले चिर्पटले हान्दा कात्तिक ९ गते ३६ वर्षीय श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भयो । सामान्य वादविवादका क्रममा दावाले दाउराको चिर्पट प्रहार गर्दा श्रीमती लाक्पा डिकुले ज्यान गुमाएकी हुन् । घटनास्थलमा प्रहरी पुग्दा लाक्पा डिकुको शव घरभन्दा करिब दुई सय मिटर टाढा रहेको गोरेटो बाटोमा फेला परेको थियो । दावाले श्रीमतीलाई खेदी खेदी चिर्पट हानेको खुलेको प्रहरीले जनाएको छ । यी घटनाहरू दशैँको आसपासमा अधिक मादकपदार्थ प्रयोग तथा सेवनका कारण घटेका केही उदाहरण मात्रै हुन् ।
अधिक मादकपदार्थको प्रयोग तथा सेवनका कारण जिल्लामा कात्तिक ७ गतेदेखि कात्तिक १० गतेको अवधिमा मात्रै नौवटा अप्रिय घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्का बताउँछन् । दशैँको नवमी र टीकाको दिनसम्म शान्त रहेको जिल्लामा त्यसपछि झै–झगडा र कुटपिटका घटना भएको प्रहरीले जनाएको छ । दशैँको आसपासमा भएको घटनाले आउँदै गरेको तिहारमा सुरक्षा चुनौती थपेको छ । ‘टीकाको भोलिपल्टदेखि यही विषयमा एनालाइसिस गरिरहेका छौँ । टीकाको अघिल्लो दिन र पछाडिका दिनहरू एकदमै फरक छन् । नवमीसम्म सुनसान थियो । टीका लगाउनुअघिसम्म पनि शान्त थियो’, डीएसपी खड्काले भने, ‘अहिले त यस्तो अवस्था भयो कि घटना नभएको ठाउँ नै छैन । यो प्रकृतिको घटना होला भनेर अपेक्षा गरिएकै थिएनौँ । अब तिहारलाई शान्तिपूर्ण बनाउन कानुन कार्यान्वयन गर्ने र सँगै चेतना फैलाउने अभियान सञ्चालन गर्ने सोच बनाएका छौँ ।’
प्रहरीका अनुसार कात्तिक ८ गते छोरीको घर हिँडेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका रिखिराज राई मृत फेला परे । उनी घरभन्दा एक किलोमिटरपूर्व बाटोको डिलबाट तीन मिटर तल लडेको अवस्थामा मृत फेला परेका थिए । यस्तै, कात्तिक ९ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका– ५ सछितापोखरी खुदुर्केका प्रदिप भुजेलले नशाको सुरमा घङ्गारुको लाठीले हान्दा काका निरम भुजेलको बायाँ कान र गाला काटियो । घाइतेलाई पञ्चमीबजारस्थित मेडिकलमा उपचार गरिएको थियो । लाठी हान्ने भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी मापसे गरेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क भैरमपुरका सुरेश पुर्कुटीले कात्तिक ८ गते जगले प्रहार गर्दा सोही ठाउँका चन्द्रबहादुर सार्की घाइते भए । वादविवादका क्रममा जगले हानेर घाइते बनाएपछि फरार भएका पुर्कुटीलाई प्रहरीले खुर्कोटबाट कात्तिक ९ गते पक्राउ गरेको छ । कात्तिक ८ गते नै साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा डाँडागाउँका तुफान राईले मापसे गरी आफ्नै घरका भैँसीको पाडीलाई बन्चरोले हानेर मारे । उनले आफ्नै स्कुटर पनि फुटाएको प्रहरीले जनाएको छ । यस्तै कात्तिक ८ गते हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ कात्तिकेका इन्द्रबहादुर विकले मापसे गरेको अवस्थामा जंगलमा चरिरहेको छिमेकीको बाख्रालाई ढुंगा हानेर मारिदिएको प्रहरीले जनाएको छ ।
दशैँतिहारमा विशेषगरी जनजाति समुदायमा संस्कारकै नाममा मादकपदार्थको अधिक प्रयोग हुन्छ । पछिल्लो समय गैरजनजाति समुदायमा पनि मादकपदार्थले स्थान लिन थालेको छ । जनजाति समुदायमा कोसेलीपातमै घरेलु तथा विदेशी ब्रान्डको पेयपदार्थ लैजाने गरिन्छ । चाडबाडको नाममा आफन्तलाई मादकपदार्थ सेवन गर्ने÷गराउने गरिन्छ । आफू पिउन र पाहुनालाई खुवाउनका लागि किनेरै भए पनि घरमा मादकपदार्थको जोहो गर्ने चलन छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- खर्च कटौतीको घोषणा अलपत्र, विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया