Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा निःशुल्क कोरोना परीक्षण

दोलखामा निःशुल्क कोरोना परीक्षण


सुबास बस्नेत
दोलखा ।
दोलखाका नौ वटै स्थानीय तहहरुले निःशुल्क कोरोना परीक्षण गर्ने भएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी सबै स्थानीय तहहरुले आफ्ना नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने जनाएका छन् । दुई नगरपालिकासहित ७ गाउँपालिकाका प्रमुख र जिल्ला प्रशासन कार्यालय दोलखाको आइतबार बसेको सर्वपक्षीय बैठकले निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरस रोग संक्रमण भई लक्षण देखिएको अवस्थामा निःशुल्क पीसीआर परीक्षण गर्ने र पोजिटिभ नतिजा आई उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च जिल्लामा रहेको कोरोना महामारी कोषमा जम्मा भएको रकमबाट सबै पालिकाले खर्च व्यहोर्ने निर्णय गरिएको छ । कोषमा भएको रकमले अपुग भएमा स्थानीय तहहरुले थप गर्दै जाने निर्णय समेत भएको छ । बैठकले स्थानीय तहको सिफारिसमा सोमबार, बुधबार र शनिबार धुलिखेल अस्पताल दोलखा र किर्नेमा स्वाब संकलन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले कोरोना संक्रमितको दोलखामा उपचार सम्भव नभई धुलिखेल वा काठमाडौं उपचारको लागि पठाउनुपरेमा बिरामीलाई प्रतिव्यक्ति १० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । निःशुल्क उपचार भने जिल्लाभित्रको अस्पतालमा मात्रै हुने भएको हो । कोरोना टेष्ट गरेका नागरिक रिपोर्ट नआउन्जेलसम्म आइसोलेसनमा बस्नुपर्ने र आइसोलेसनमा नबसेको खण्डमा कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

साथै बैठकले सबै व्यापारिक पसलमा अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने निर्णय पनि भएको बताइएको छ । दशैँको समयमा जिल्ला दैनिक कोरोना संक्रमित बढेपछि स्थानीय सरकारका जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा दशैँको समयमा मात्र ६७ जना सक्रिय संक्रमित थपिएका छन् । जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८० पुगेको छ भने जम्मा संक्रमण हुनेको संख्या एक सय ४० पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया