Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसदरमुकाम नै सार्वजनिक शौचालयविहीन

सदरमुकाम नै सार्वजनिक शौचालयविहीन


आशिष बहादुर सिंह
बझाङ ।
बझाङको सदरमुकाम चैनपुर सार्वजनिक शौचालयविहीन भएको छ । बझाङको केन्द्रविन्दु तथा जयपृथ्वी नगरपालिकाको चैनपुर बजारमा केही वर्षअघि चैनपुरस्थित खुलामञ्चमा महिला र पुरुषको लागि छुट्टाछुट्टै प्रयोगका लागि सार्वजनिक शौचालय निर्माण गरे पनि कोरोना महामारीपछि बन्द भएको शौचालय हालसम्म पनि सञ्चालनमा आएको छैन ।

स्थानीय मनराज धामीले भने, ‘सदरमुकामजस्तो ठाउँमा सार्वजनिक शौचालय नहुनु र भएको एउटा मात्रै शौचालय पनि बन्द हुँदा सर्वसाधारणहरुलाई असहज भएको छ ।’ सार्वजनिक शौचालय बन्द हुँदा गाउँघरबाट आएका सर्वसाधारणहरुले शौच गर्नका लागि निर्माण गरिएको शौचालय प्रयोग नपाएको उनले बताए ।

अर्का स्थानीय सुरेश विष्टले सदरमुकाममै सार्वजनिक शौचालय नहुँदा शौच गर्न होटलका शौचालय खोज्दै जानुपर्ने अवस्था रहेको बताए । ‘शौच गर्न मन लागेपछि चिया खाजा खाने बहानामा होटलमा जानुपर्छ’, विष्टले भने । उनले शौचालय बन्द भएको आठ महिना पुग्दा पनि सञ्चालनका लागि नगरपालिकाले चासो नदिएको बताए ।

सार्वजानिक शौचालय हेरचाह तथा सरसफाइ गर्दै आएका राजेन्द्र कामीले भने, ‘कोरोनाका कारण चैत १२ गतेदेखि शौचालय बन्द गरेको हुँ, आजभोलि पानी आउँदैन, पानी नभएकाले शौचालय बन्द गरिएको छ ।’ खानेपानी कार्यालय र नगरपालिकामा पानी अभाव भएको जानकारी गराए पनि कुनै पहल नभएकाले शौचालय बन्द गर्नुपरेको उनले बताए ।

यता जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले भने, ‘ट्यांकीमा पानी नचढ्ने समस्या भएको छ । हामीले त्यसको विकल्प खोजिरहेका छौँ ।’ सदरमुकाम चैनपुरभित्रै दुईवटा नयाँ सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय भएकाले केह् िदिनमै काम सुरु हुने बताए । नयाँ शौचालय निर्माण भएपछि सार्वजनिक शौचालयको समस्या हट्ने उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया