Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराजनीतिक खिचातानीले खानेपानी सञ्चालनमा ढिलाइ

राजनीतिक खिचातानीले खानेपानी सञ्चालनमा ढिलाइ


महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ र २ मा राजनीतिक खिचातानीका कारण खानेपानी आयोजना सञ्चालनमा ढिलाइ भएको छ । वि.सं. २०७४ सालमा सुरु भएको खानेपानीको योजनाको समय तीन वर्ष बितिसक्दा समेत सञ्चालन हुन नसकेको हो । राजनीतिक कारणले आयोजना सञ्चालनमा ढिलाइ भएको स्थानीयले बताएका छन् ।

स्थानीय विनोद बस्नेतका अनुसार खानेपानी सञ्चालनमा राजनीतिक खिचातानीसँगै दुवै पक्षले आफ्नो दायित्व के हो र के गर्नुपर्ने भनेर नबुझ्दा काममा ढिलासुस्ती भएको बताए । तीन वर्ष बितिसक्दा समेत कामको कुनै सुरसार नचल्दा स्थानीयले स्वच्छ खानेपानी पिउनबाट वञ्चित भएको बताइएको छ । स्थानीयको आशामा तुसारोपात भएको अर्का स्थानीय छिरिङ शेर्पाको गुनासो छ ।

संघीय सरकारबाट आर्थिक वर्ष २०७४/०७५ मा खानेपानी आयोजनाका लागि सात करोड रकम विनियोजन भएको थियो । पार्टीगत रुपमा समस्या उत्पन्न भएको कारण उपभोक्ता समिति गठनमा नै ढिलाइ भएको बताइएको छ । आयोजनाको जस कसले लिन भन्ने विषयमा कुरा नमिल्दा समस्या भएको वडा नम्बर २ का अध्यक्ष रमेश बस्नेतले बताए ।

वि.सं. २०७६ सालमा उपभोक्ता समिति गठन गरिए पनि कोरोना भाइरसका कारण काम हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । गोली खानेपानी आयोजना उपभोक्ता समितिले जिम्मा पाएको योजनाको काम कात्तिक १७ गते बसेको बैठकमा निर्णय गरी कात्तिक २१ गतेबाट सञ्चालन भएको उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र बस्नेतले बताएका छन् । पञ्चवर्षीय योजना भएकाले खानेपानीको काम अबको दुई वर्षभित्र सम्पन्न गरिसक्ने समितिका अध्यक्ष बस्नेतको भनाइ छ । छोविङटारको मुहान हुँदै ल्याइने खाने पानीबाट वडा नम्बर १ र २ का ६ सय घरधूरी लाभान्वित हुनेछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया