Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधशिक्षक र विद्यार्थी मिलेर परिचरमाथि कुटपिट

शिक्षक र विद्यार्थी मिलेर परिचरमाथि कुटपिट


महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुमा शिक्षक र विद्यार्थी मिलेर एक विद्यालयका परिचरलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ मा सञ्चालित जनजागृति माध्यमिक विद्यालयका शिक्षक नारायणप्रसाद पाण्डे र सोही विद्यालयमा अध्ययनरत विद्यार्थी मनोज चौबेले विद्यालयका परिचर कुमार कार्कीमाथि कुटपिट गरेका हुन् ।

शिक्षक पाण्डे र विद्यार्थी चौबेले सुकाएको मुला बाख्राले खाएको निहुँमा आफ्ना श्रीमान्लाई मरणासन्न हुनेगरी कुटपिट गरेको उनकी श्रीमती मित्रा राईले बताएकी छिन् । उनले भनिन्, ‘कात्तिक ३० गते दिउँसो नारायण सरले सुकाएको मुला बाख्राले खाएछ, त्यही रिसले मेरो श्रीमान्लाई नारायण सर र उनका साला पर्ने विद्यार्थी चौबेले कुटेका हुन् । ‘बाटो हिँड्ने मान्छेले मलाई खबर गरेपछि म घट्नास्थलमा पुगेँ ।

म घट्नास्थलमा पुग्दा नारायण सरले मेरो श्रीमान्लाई समातेका थिए भने विद्यार्थीले कुटिरहेका थिए ।’ कुटपिटबाट गम्भीर घाइते भएका कुमार कार्कीलाई जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको छ । शिक्षक नारायणप्रसाद पाण्डेले भने यो घट्नामा आफ्नो संलग्नता नरहेको बताएका छन् । विद्यार्थी र परिचरबीच झगडा भएको र आफूले छुट्ट्याउने कोसिस मात्र गरेको उनले बताए ।

परिचरले मादक पदार्थ सेवन गरी अपशब्द बोलेपछि विद्यार्थी र परिचरबीच झगडा भएको र आफूले झगडा नगर्न आग्रह गर्दागर्दै झगडा भएको बताउँदै शिक्षक पाण्डेले आफू कुटपिटमा संलग्न नभएको बताए । घाइते कार्कीकी श्रीमती मित्रा राईले घटना बाहिर नल्याउन विद्यालय प्रसाशनले दबाब दिएको समेत आरोप लगाएकी छिन् । तर विद्यालयका प्रध्यानाध्यापक मानबहादुर कार्कीले भने मिलेरै जान सुझाव दिएको तर घटना दबाउने पक्षमा दबाब नदिएको बताए ।

जिल्ला प्रहरी कार्यालयले कुटपिटमा संलग्न विद्यार्थीलाई सोही दिन नियन्त्रणमा लिएको भए पनि उपचार गर्ने सहमति भएपछि छाडिएको जनाएको छ । तर पीडित पक्षले भने उपचार शुल्क बेहोर्ने विषयमा सहमति नभएको बताएको छ । आफूले कुनै कागजमा हस्ताक्षर नगरेको र कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै पिडक खुलेआम डुलिरहेको कार्कीले गुनासो गरिन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी महेन्द्र दर्नालले भने घटना अनुसन्धानकै क्रममा रहेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया