Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराहुघाट जलविद्युत्को बाँध सिधा सडक सञ्जालमा जोडियो

राहुघाट जलविद्युत्को बाँध सिधा सडक सञ्जालमा जोडियो


म्याग्दी ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३ दशमलव ५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो ।

ट्रस प्रविधिको सो पुलले ४० टन भार वहन गर्नसक्ने क्षमता रहेको जेपी एसोसियट्सका इन्जिनियर जितेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्की पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन दुई करोड ५० लाख खर्च भएको छ । पुल निर्माण भएसँगै राहुघाट जलविद्युत् आयोजनाको बाँध सिधा सडक सञ्जालमा जोडिएको छ । यसअघि नदीमा पुल नहुँदा बाँध निर्माणका लागि आवश्यक पर्ने उपकरण र सामग्री ढुवानी हुन सकेको थिएन ।

राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि सुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताए । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युत्को रघुगङ्गा–३ तिल्केनीस्थित विद्युत्गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ । सडक निर्माण भए पनि पुल नभएका कारण बाँधसम्म यातायातको पहुँच थिएन । पुल निर्माणले जलविद्युत्को बाँधस्थलसँगै रघुगङ्गा गाउँपालिकाको वडा नं ५ को झिँ र वडा नं ६ को पाखपानीका बस्ती गाउँपालिकाको केन्द्र मौवाफाँटसँग सिधा सडक सञ्जालमा जोडिएका छन् ।

मौवाफाँट हुँदै बुग्लसम्म पुगेको सडकको ट्र्याक राहुघाट जलविद्युत् आयोजनाकै सहयोगमा झिँसम्म विस्तार भइसकेको छ । बुग्लदेखि झिँ जोड्ने सडकको ट्र्याक निर्माण भइसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नति गरी झिँदेखि मौवाफाँटतर्फ नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । मोटरेबल पुल बनेसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवतजावतका लागि बेनी हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

झिँ–मौवाफाँट यातायात सञ्चालन भएपछि दुई घण्टाको यात्रा अवधि एक घण्टामा छोटिने झिँका स्थानीय युवा मीनबहादुर रोकाले बताए । साथै तीन वर्षअघि ठेक्का सम्झौता भएको राहुघाट जलविद्युत् आयोजनाको एक चौथाइभन्दा बढी निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीनवटा अडिट (सुरुङसम्म पुग्ने पहुँचमार्ग) बन्दाबन्दी र बाढी पहिरोको असहज अवस्थामै सकिएको छ ।

रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले महामारी, प्राकृतिक विपद् र चाडपर्वको समयमा पनि आयोजनाको काम नरोकिएको बताए । उनका अनुसार सिभिलतर्फ १८ र इलेक्ट्रोमेकानिकलतर्फ १० प्रतिशत भौतिक प्रगति भएको छ । पिप्ले, अँधेरीखोला र तिल्लेकीको अडिटबाट पाँच सय मिटर मुख्य सुरुङ खनिएको छ । पिप्लेमा ५८ मिटर गहिरो सर्च साफ्ट खन्नुपर्नेमा ३५ मिटर गहिरो खनिसकिएको छ । बाँध रहने ठाउँमा बन्ने अडिट एकको पोर्टल (सुरुङ खन्ने ठाउँ) तयार बनाएको छ । बर्खामा बुग्लमा खस्ने पहिरो पन्छाएर मर्मत गर्दै बाँधतर्फ ढुवानी र आवतजावतलाई निरन्तरता दिइएको थियो । सिभिल ठेकेदारका पाँच सय मजदुर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् ।

विसं २०७४ मंसिर ५ गते छ अर्बमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यो आयोजनाको सुरुङ, पहुँचमार्ग, विद्युत्गृह र बाँध निर्माणस्थल रघुगङ्गा गाउँपालिकामा पर्दछ । भारतीय एक्जिम बैंकको सहुलियत ब्याजदरसहित चार करोड ४० लाख अमेरिकी डलर ऋणमा राहुघाट निर्माण हुन लागेको हो । ४५ महिनाको ठेक्का अवधि भएको आयोजनाको ३६ महिना पूरा भएको छ । आयोजनाको छ किलोमिटर दुई सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहनेछ । घुमाउने तालदेखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया