Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसिंगटीमा सडक सुधारको माग गर्दै स्थानीय आन्दोलित

सिंगटीमा सडक सुधारको माग गर्दै स्थानीय आन्दोलित


दोलखा । दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारी केन्द्र सिंगटी बजारको मुख्य सडकको स्तरोन्नति हुन नसकेको भन्दै आइतबार स्थानीयले बजार क्षेत्रको सडक अवरोध गरेका छन् । एक साताअघि विज्ञप्ति निकालेर सडक निर्माणको माग गर्दा समेत सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएकोले आन्दोलनमा उत्रनु परेको स्थानीयको भनाइ छ ।

सिंगटी बजार सडक संघर्ष समिति नै बनाएका स्थानीयले सडकमा ढुङ्गामुडा तथा टायर बालेर सडक अवरोध गरेका हुन् । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले दुई वर्षदेखि बजार क्षेत्रको सडक बनाउन चासो दिएको छैन । ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाले गुणस्तरहीन काम गरेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार बजारमा हाल निर्माणाधीन अवस्थामा रहेको सिंगटी सडकको कालोपत्रे गर्ने कार्य गुणस्तरहीन, वातावरणमैत्री तथा बालमैत्री नभएका कारण नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर परेको छ । बजारको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनेगरेको छ । यस्तै ढल निकास समेत पूर्ण रूपमा बन्द भएको बताइएको छ । ठेकेदार र सम्बन्धित निकायलाई आम नागरिकको समस्याका बारेमा पटक–पटक जानकारी गराउँदा समेत सुधार गर्न चासो नदिएपछि आजित भएर आन्दोलनमा उत्रिएको स्थानीय श्याम श्रेष्ठले बताए ।

गत मंसिर ३ गते स्थानीयले बैठक राखी सात दिनभित्र सो सडकक्षेत्रभित्रको धुलो हटाउने काम, ढल निकास सञ्चालनको काम, कालोपत्र गर्ने बाँकी काम पूरा गर्न गराइपाऊँ भनेर सम्बन्धित निकायमा ज्ञापनपत्र पेस गरेका थिए । तर उक्त ज्ञापनपत्रलाई सरोकारवाला निकायले चासो नदेखाएपछि बाध्य भएर बजारमा सञ्चालन हुने अत्यावश्यक सवारीसाधानबहेक सवारीलाई चल्न नदिने निर्णय गरेको संघर्ष समितिले जनाएको छ ।

आइतबार स्थानीयले सडक अवरोध गर्दा करिब दुई घण्टा सवारी सडकमै थन्किएका थिए । तत्काल निर्माण कम्पनीले बजार क्षेत्रको सडक र नाला ढल मर्मतमा चासो नदिए अन्य थप आन्दोलनका कार्यक्रम सुरु गर्ने सडक संघर्ष समितिले चेतावनी दिएको छ । करिब दुई घण्टापछि इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले अवरोध सडक सुचारु गरेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x