Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधघर–घरमा खानेपानीको धारा पुगेपछि करेसाबारी हराभरा

घर–घरमा खानेपानीको धारा पुगेपछि करेसाबारी हराभरा


दोलखा । जिल्लाका दुर्गम र विकट गाउँमा अझै खानेपानीको चरम समस्या रहँदै आएको छ । दर्जनौँ बस्तीका मानिस अहिले पनि घन्टौँ हिँडेर पानी लिन जाने समस्या भोग्दै आएका छन् । तर केही बस्तीमा भने अहिले विभिन्न दातृ निकाय र स्थानीय सरकारको पहलमा विस्तारै खानेपानीको समस्या हट्दै गएको छ ।

जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३को पाइलेमा अहिले घर–घरमा खानेपानीका धारा निर्माण हुँदै गएका छन् । पाइलेको एउटा सिङ्गो बस्तीमा करिब ५५ घरपरिवार बसोबास गर्छन् । सो बस्तीका प्रत्येक घरमा आ–आफ्नै खानेपानीको धारा बनेका छन् । गत वर्षसम्म खानेपानी अभाव झेलेका यहाँका स्थानीयहरूको घर–घरमा अहिले भने सगुन सोसियल अर्गनाइजेसन नामक सामाजिक संस्थाले धारा निर्माण गरी खानेपानी सेवा उपलब्ध गराएको छ । धारा निर्माण गर्ने आवश्यक सम्पूर्ण निर्माण सामग्री संस्थाले सहयोग गरेर ‘एक घर एक धारा कार्यक्रम’ सुरु गरेको संस्थाका अध्यक्ष झलक तामाङले जानकारी दिए ।

खानेपानी अभावले सधैँ खडेरी लागेजस्तो देखिने यहाँका करेसाबारी र घरपेटी अहिले हरियो सागसब्जीले हरियाली र हराभरा देखिएको छ । स्थानीय जानुका बस्नेतले घरमा धारो बनेपछि घरअगाडिको करेसाबारीभरि विभिन्न सागसब्जी र सिमी, मुला लगाएकी छिन् । उनी भन्छिन्, ‘पहिले घण्टौँ लगाएर पानी लिन जानु पथ्र्यो, समय पनि खेर जान्थ्यो, तर अहिले घरमै पानीको धारो बनेपछि समयको बचत हुनुको साथै प्रयोग गरेर फालिएको पानीको सदुपयोग गरेर करेसा बारी र जुठेल्नु वरिपरि सागसब्जी र तरकारी लगाएको छु ।’

उनका अनुसार खानेपानीको पहुँच नहुदा दैनिक सयौँ रूपैयाँको तरकारी किन्नु पथ्र्याे अहिले त्यो तरकारी किन्ने पैसा बचत भएको छ । बस्नेतले मात्र हैन गाउँका धेरैजसोले आ–आफ्नो करेसाबारीमा तरकारी लगाएका छन् । संस्थाले पाइलेका अझै करिब ६० घरपरिवारलाई खानेपानीको अभाव रहेकोे जनाएको छ । यहाँ वैशाखसम्म सबैको घरमा धारा निर्माण गरिसक्ने संस्थाको योजना छ । उक्त संस्थाले गत वर्ष बैतेश्वर नाम्दुका २५ घरपरिवार रहेको दलित बस्तीमा खानेपानीको धारा निर्माण गरिदिएको थियोे । त्यसैगरी उक्त संस्थाले बैतेश्वर गाउँपालिकाभित्रका सुकुमबासीलाई घर निर्माण गरेर दिँदै आएको छ भने परिवारविहीन बालबालिकालाई सहयोग गर्दै आएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x