Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखेतको बालुवा हटाउने व्यवस्था गर्न दोधाराका बाढीपीडितको आग्रह

खेतको बालुवा हटाउने व्यवस्था गर्न दोधाराका बाढीपीडितको आग्रह


कञ्चनपुर । गत कात्तिक महिनामा आएको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० का कुतियावकर, शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, गुरुङ टोल, अठार नम्बर पिल्लर बस्तीलगायत बस्तीमा महाकाली र जगबुडा नदीमा बस्ती नै डुबानमा प¥यो । महाकाली नदी र जगबुडा नदी उर्लिँदा नदीको भङ्गोलो बस्तीमा पसेपछि यहाँका बस्ती तथा खेतबारी पुरिएर बगर बनेका छन् ।

दोधारा चाँदनी नगरपालिकाको धेरैजसो खेतीयोग्य जग्गा बगर बनेको स्थानीय बताउँछन् । भारतसँग सीमा जोडिएको बस्तीमा आएको विनाशकारी बाढीले लाखौँको धनमालको क्षति गरेको थियो । बाढीले उनीहरूको खेतीयोग्य जग्गामा बालुवा थुपारिदिएपछि अबका दिनहरूमा के खाने, भन्ने चिन्ताले सताएको छ । ‘हामी सबैको उब्जनी हुने खेत सबै बालुवाले पुरिदियो’, स्थानीयवासी मोहन सुनारले भने । बस्तीको खेतीयोग्य जग्गामा बाढीको बालुवाले पुरिदिएपछि यस पटक खेती लगाउन नपाएको उनको गुनासो छ । महाकाली र जगबुडा नदीमा आएको बाढीले बगाएर ल्याएको रुख, दाउरा बस्तीमा थुपारिदिएको उनले बताए । ‘बाढीको बेला मेरो वडामा मात्रै नौ सय घरपरिवार प्रभावित बन्न पुग्यो’ दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष नर बहादुर सुनारले भने । खेतमा बाढीले थुपारिदिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताए । बाढीपीडितहरूलाई तत्कालको लागि राहतस्वरूप नगरपालिका र दातृ निकायबाट खाद्य तथा गैरखाद्य सामग्री वितरण कार्य भइसकेको उनको भनाइ छ ।

दोधारा चाँदनी नगरपालिकाको भौगलिक विकट मानिने वडा नं. १० को अठार नम्बर पिल्लर बस्ती, कुतियाकवर, बैतिफाँटा, शान्ति टोललगायत बस्तीका स्थानीयहरू खेतीपाती र भारतीय सीमावर्ती बजार क्षेत्रमा ज्याला मजुरी गरेर जीविका चलाउँदै आएका छन् । यहाँ कयौँ स्थानीयहरूको छाक टार्ने बाटो नै खेतीपाती हो । अहिले आएर उनीहरूको जग्गामा बालुवा थुपारिदिएपछि खेती गर्नबाट वञ्चित भएका छन् । उनीहरू बिहान साँझ खेतमा हेरेर दिन काट्न थालेका छन् ।

विभिन्न संघ–संस्था तथा व्यक्तिबाट सहयोग पाएको भए पनि सरकारपक्षले किसानहरूको बाढीले विगारेको खेतीयोग्य जग्गा तथा तटबन्धको बारेमा कुनै कार्य नगरेको उनीहरूको गुनासो छ । ‘राहतभन्दा हाम्रो खेतमा डोजर लगाएर बालुवा हटाइदिए हुन्थ्यो’ स्थानियवासी सुनिता सुनारले भनिन्, ‘गरीखाने खेतमा बालुवा भरियो । सबैले खेती लगाइसके, हाम्रो खेत त्यस्तै छ । अब कसरी जीविका चलाउने ?’ स्थानीय पालिकालाई तथा बाढीको क्षति हेर्न आएका सबै नेता तथा संघ–संस्थालाई सुनाएको उनले बताइन् । अन्नबाली बगाउँदा एक छाक टार्न समेत हम्मेहम्मे पर्दै आएको उनीहरूको पीडा छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x