Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनियमविपरीत बाँध निर्माणको जिम्मा उपभोक्ता समितिलाई

नियमविपरीत बाँध निर्माणको जिम्मा उपभोक्ता समितिलाई


महेन्द्रनगर । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. ७ महेन्द्रनगरले कैलाली र कञ्चनपुरका महाकाली, दोदा मोहना र खुटीया गरी चार नदीमा वर्षेनी नदी नियन्त्रण तथा बाँध व्यवस्थापनको कार्य गर्दै आएको छ ।

नदी नियन्त्रणका लागि बाँध व्यवस्थापन तथा निर्माणकार्यलाई बाध्यात्मक परिस्थितिबाहेक टेण्डर आह्वान गरेर ठेक्का लगाउनुपर्ने प्रावधान भए पनि कार्यालय प्रमुख मनोरञ्जन कुमार सिंहले चालू आर्थिक वर्षको सुरुवातमै उपभोक्ता समितिमार्फत काम गराउन थालेका छन् ।

कार्यालय प्रमुख सिंहले कैलालीको गोदावरी नगरपालिका–१० घसकटलास्थित खुटीया नदीमा बाध निर्माण तथा व्यवस्थापनको कार्य ७० लाखमा उपभोक्ता समितिलाई दिएका हुन् । ठेक्का प्रक्रियाबाट गर्नुपर्ने कार्य उनले उपभोक्ता समितिमार्फत गर्न थालेका हुन् । महाकाली नदी, दोदा नदी, मोहना नदी कैलाली कञ्चनपुर र खुटीया नदी कैलालीको बाँध निर्माणको लागि वार्षिक कार्यक्रम तथा अख्तियारी २०७८ जेठमै मन्त्रालयगत बजेट सूचना प्रणाली ‘एलएमबीआईएस’मा प्रविष्टि भई आएको थियो ।

उक्त कार्यको वार्षिक कार्यक्रमअनुसार ठेक्का प्रक्रियामा गई प्रतिस्पर्धामार्फत कम लागतमा अधिक निर्माण कार्य गराउनुपर्नेमा उनले आर्थिक अनियमितता गर्ने नियतका साथ कैलालीको खुटिया नदीमा उपभोक्ता समितिमार्फत काम गर्न दिएका छन् । गोदावरी नगरपालिका–१० घसकटलास्थित खुटीया नदीमा बाध निर्माणका लागि प्रकाश बोकटी अध्यक्ष रहेको उपभोक्ता समितिलाई कार्यालय प्रमुख सिंहले ७० लाखमा निर्माणको जिम्मा दिएका हुन् ।

खटिया नदीमा असोज अन्तिम साता आएको बाढीका कारण बाध्यात्मक परिस्थितिमा बस्ती डुबानबाट जोगाउनका लागि आफूले उक्त काम उपभोक्ता समितिलाई दिएको कार्यालय प्रमुख सिंहले बताए । ‘खुटीया नदीमा बाढी आउदा धनगढी बजारसम्म नै ढुवानको जोखिम रह्यो, टेण्डर खोलेर ठेक्का प्रक्रियामा जाँदा धेरै नै समयलाग्ने भएको हुँदा हामी बाँध निर्माणको काम तत्काल गर्नका लागि उपभोक्ता समितिमार्फत गएका हौँ’, कार्यालय प्रमुख सिंहले भने । उपभोक्ता समितिमार्फत काम गराउँदैमा आर्थिक अनियमितता गरेको नजरले हेर्न नहुने कार्यालय प्रमुख सिंहको भनाइ छ ।

‘समय अभावका कारण हामी उपभोक्ता मार्फत गएका हौँ, समयमै काम गराउने हाम्रो नियत हो । आर्थिक अनियमितता गने होइन’, उनले भने । गत असोज महिनाको अन्तिम साता शुदूरपश्चिमका विभिन्न नदीहरुमा बाढी आएपनि जनताको तटबन्ध कार्यक्रमले कैलालीको खुटीया नदीमा मात्रै उपभोक्ता समितिमार्फत काम गराउन लागेको हो । उक्त नदीमा बाढी आएको झण्डै २ महिनापछि मात्रै कार्यालय प्रमुख सिंहले उपभोक्तामार्फत काम गराउन थालेका हुन् ।

टेण्डर प्रक्रियामार्फत काम गराउँदा बढीमा अढाई महिनामात्रै लाग्थ्यो, तर पनि हाकिमले दुई महिना बिराएर कुन नियतले उपभोक्तामार्फत काम गराए भन्ने प्रश्न उब्जिएको महेन्द्रनगरका सम्बन्धित क्षेत्रका विज्ञ एक जना इन्जिनियरले बताए । ‘२/४ दिन धैर्य गरेर बरु टेण्डरमार्फत काम गराएको भए त्यो बजेटमा दोब्बर र गुणस्तरीय काम हुन्थ्यो’, उनले भने, ‘त्योसँगै आर्थिक वर्षको सुरुवातमै उपभोक्तामार्फत काम गराउनु नैतिक रुपमा उपयुक्त ठानिँदैन ।’

असोज महिनाको अन्तिम साता सुदूरपश्चिमलगायत देशभरकै नदीहरुमा पानीको वहाव बढ्नुका साथै बाढी आएको थियो । यसले गर्दा सुदूरपश्चिममा महाकाली, सेती, दोदा र मोहना नदीले कञ्चनपुर र कैलालीमा करोडौंको क्षति गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x