Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध२० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु

२० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु


चितवन ।  विगत २० वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट दुई सय ७४ को मृत्यु भएको छ ।

मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको सोमबार सौरहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरे ।

सो अवसरमा उनले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु भएको जानकारी दिए । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् ।

उहाँका अनुसार पर्सामा २१, बारामा २०, सिराहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको मृत्यु भएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

यसै अवधिमा एक सय ३८ घाइते भएको, सम्पत्ति नष्ट तीन हजार सात सय ५५ को र बालीनाली छ हजार छ सय छ जनाको नष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्षति झापा, बर्दिया र चितवनमा भएको छ । जङ्गली हात्तीको आक्रमणमा बढी सङ्ख्यामा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति पर्ने गरेको तथ्याङ्कमा देखाइएको छ ।

हात्तीको आक्रमणमा पर्नेमा सो उमेर समूहका ७५ प्रतिशत रहेका छन् । वन क्षेत्रबाट पाँच सय मिटरवरिपरिमा बढी सङ्ख्यामा जोखिम रहेको उनले बताए । वन क्षेत्रको पाँच सय मिटरको क्षेत्रफलमा २० वर्षमा हात्तीको आक्रमणबाट एक सय ८३ जनाको मृत्यु भएको छ ।

यसै अवधिमा सोही दूरीभित्र ९३ जना घाइते भएका छन् । साँझ ४ बजेपछिको समय र रातमा ८ बजेपछि ११ बजे सम्मको समयमा हात्तीले बढी आक्रमण गर्ने गरेको उनको अध्ययनमा उल्लेख छ । अशिक्षित, गरिब तथा विपन्न धेरै प्रभावित हुने गरेका छन् । उहाँको अध्ययनमा यस्तो वर्गका ८९ प्रतिशत प्रभावित हुने गरेको देखाइएको छ ।

समुदायमा आएको हात्तीलाई भगाउन पटाका पट्काउने, मदिरा खाएर हात्ती लखेट्न जाने जस्ता कार्य गर्दा मानवीय क्षति बढी हुने गरेको उल्लेख छ । वन क्षेत्र नजिक र चुरेको फेदीमा बसोबास गर्ने दलित जनजाति र गरिब समुदाय बढी सङ्ख्यामा हात्तीको आक्रमणमा पर्ने गरेको उनले बताए ।

हात्तीलाई बस्तीमा पसेको अवस्थामा आगोमो राँको बालेर मात्रै सहज हुने भएकाले सर्वसाधारणले सोहीअनुसार गर्न आग्रह गरिएको छ । कच्ची घरमा बढी सङ्ख्यामा हात्तीको आक्रमण रहने तथ्याङ्क सार्वजनिक गरिएको छ । मृत्यु हुने अधिकांश वयस्क पुरुष रहेका छन् भने मृत्यु भएकामध्ये २५ प्रतिशत हात्ती धपाउँदा आक्रमणमा परेर मृत्यु भएको उनको भनाइ छ ।

गएको २० वर्षमा निकुञ्ज र त्यस आसपासका क्षेत्रमा १० हजार सात सय ९८ मानव हात्तीबीचको द्वन्द्वका कारण घटना भएको उनको अध्ययनले देखाएको छ । सन् २००९ देखि घटना बढ्दै गएको सो अवसरमा जानकारी दिइएको थियो । अहिले देशभर दुई सय २७ हात्ती रहेका छन् । तीमध्ये ३७ वटा हात्ती समस्याग्रस्त रहेको भन्दै उनले तीमध्ये पाँच हात्ती बढी समस्यामा रहेको जानकारी दिए ।

उनका अनुसार समूहमा बस्न रुचाउने यस जनावर समूहबाट बाहिरिएपछि समस्याग्रस्त हुने गरेका छन् । हात्तीले देशको विभिन्न क्षेत्रमा रहेका ५१ वटा करिडोर प्रयोग गर्ने गरेको र तीमध्ये अहिले ३९ वटा मात्रै करिडोरको प्रयोग हुने गरेको उनले भनाइ छ ।

बाह्र वटा करिडोरमा हात्तीको आवतजावतका लागि समस्या भएकाले त्यसको प्रयोग कम गर्ने गरेको पाइएको उनले बताए । यसैकारण हात्तीले सहज हिँड्डुल गर्न नपाउँदा बस्ती पसेको उनले सो अवसरमा जानकारी दिए ।

नेपालमा आउने हात्ती बढी सङ्ख्यामा दुई क्षेत्रबाट आउने गरेका छन् । पश्चिम बङ्गालबाट नेपालको झापामा आउने र पश्चिमतर्फबाट सिराहाको बन्दीपुर हुँदै विभिन्न क्षेत्र पुग्ने गरेको पाइन्छ । जङ्गली हात्तीले चारदेखि १० वटासम्मको समूह बनाएर बसाई सर्ने गरेको उनको अध्ययनमा देखाइएको छ ।

हात्तीले धान पाक्ने समयमा बढी सङ्ख्यामा घटना गराउने गरेको पाइन्छ । भदौदेखि मङ्सिरसम्मको समयमा धेरै घटना हुने गरेको उहाँले जानकारी दिनुभयो । अशोककुमार राम हाल बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत छन् ।

विद्यावारिधिका क्रममा उनले गरेको अध्ययनलाई सार्वजनिक गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस अध्ययनले नीति निर्माणका तहमा सहज बनाउने बताए

। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा यो अध्ययन सहयोगी बन्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x