Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहुरे–राजापानी सडक निर्माण कार्य सुचारु

महुरे–राजापानी सडक निर्माण कार्य सुचारु


खेमराज अधिकारी
खोटाङ, फागुन १३
सडक कालोपत्रको क्रममा ठेकेदार कम्पनीले व्यापक ढिलासुस्ती गर्नुका साथै गुणस्तहीन काम गरेको र कार्यरत मजदूरले पारिश्रमिक समेत नपाएको भन्दै स्थानीयवासीले ठप्प बनाएको महुरे–राजापानी–सिम्पानी २२ किलोमिटर सडकखण्डको काम पुनः सञ्चालन भएको छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने महुरेदेखि राजापानीको सिमपानीसम्मको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले लामो समयसम्म कामदारको पारिश्रमिक नदिएपछि आक्रोशित स्थानीयवासीले बिहीबारदेखि अवरुद्ध बनाएको सडक कालोपत्रको काम जिल्ला प्रशासन कार्यालय खोटाङको पहलमा सोमबारदेखि सञ्चालन भएको हो ।

विभिन्न माग राख्दै स्थानीयले सडक कालोपत्रेको काम ठप्प बनाएपछि शनिबार खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, पूर्वसांसद पाँचकर्ण राई, नेकपा नेता देवविक्रम राई, ठेकेदार कम्पनीका प्रतिनिधि नवीन मैनाली र स्थानीयवासी सम्मिलित छलफलपछि अवरुद्ध सडक निर्माणको काम सुचारु गराउने सहमति जुटेको हो । उक्त छलफलमा भुक्तानी दिन बाँकी कामदार तथा व्यवसायीलाई ठेकेदारले दश लाख बाँडिदिने, जिरोप्वइन्ट रहेको महुरेबाट कालोपत्रको काम टुंग्याउँदै जाने, बस्ती तथा विद्यालय आसपासमा उड्ने धुलो नियन्त्रणका लागि ठेकेदारले दैनिक पानी हाल्नेलगायतका सहमति भएपछि अवरोध हटाइएको बुइपाका स्थानीयवासी मिलन राईले बताए ।

छलफलमा निर्माण कम्पनीका प्रतिनिधिलाई निर्धारित समयभित्र सडक कालोपत्रेको काम सम्पन्न गर्न निर्देशन दिइएको पूर्वसांसद पाँचकर्ण राईले बताए । महुरे–राजापानी खण्डको काम सुरु भएदेखि नै श्रम गरेका कामदारले पारिश्रमिक नपाएपछि आक्रोशित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, वडा नम्बर–१४ बुइपा, वडा नम्बर–१५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका स्थानीयवासीले काममा अवरोध गरेका थिए । ठेकेदारले तोकिएको मितिमा पारिश्रमिक दिन नसकेपछि कामदारले निर्माणस्थलमा रहेका कम्पनीको ६ वटा टिफर, एउटा पानी ट्यांकर, २ वटा एक्स्काभेटर, एउटा बोलेरो र एउटा लोडरको चाबी नियन्त्रणमा लिएर प्रहरी चौकी बुइपालाई बुझाएका थिए ।

उक्त कम्पनीले सडक निर्माणका क्रममा कमसल निर्माण सामग्री प्रयोग गरेर गुणस्तरहीन सडक बनाएको व्यापक जनगुनासो आउने गरेको छ । सडक कालोपत्रेको काममा राजापानीको मालास्थित संसारीडाँडाको गिटी र साप्सुखोलाको बालुवा प्रयोग गर्ने भनि सम्झौता गरिएको भए पनि निर्माण कम्पनीले सो स्थानको बालुवा र गिटी प्रयोग नगरी अन्यत्रबाट ल्याएर प्रयोग गरिरहेको स्थानीयहरूको भनाइ छ । ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले पटक–पटक उक्त ठेकेदारलाई सडककमा गुणस्तर कायम गर्न दबाब दिँदै आएका छन् । सो सडकखण्डमा निर्माण गरिएको नाली गुणस्तरहीन भएको भन्दै डेढ महिनाअगाडि स्थानीयले ३० मिटर नाली भत्काइदिएका थिए ।

पूर्वी नेपालका तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको मार्गका रूपमा रहेको दिक्तेल–गाईघाट–सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिम्पानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले गरिरहेको छ । सो सडक खण्डमा समेत कामको गति सन्तोषजनक नभएको आवाज उठेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x