Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवातावरणमैत्री सडक हेर्न बझाङका जनप्रतिनिधि बैतडीमा

वातावरणमैत्री सडक हेर्न बझाङका जनप्रतिनिधि बैतडीमा


आशिषबहादुर सिंंह
बझाड., फागुन २८
जथाभावी डोजर सञ्चालन गरेर सडक निर्माण गरेको र जिल्लामा वातावरणीय क्षति निम्त्याएको आरोप खेपिरहेका बझाङका जनप्रतिनिधिहरू वातारणमैत्री सडक हेर्न बैतडी पुगेका छन् । उनीहरू बैतडीमा निर्माण भएको देहीमाण्डौ गिरेगडा वातावरणमैत्री ग्रामीण सडकको अवलोकनका लागि उनीहरू बैतडी पुगेका हुन् ।

कुनै पनि वातावरणीय असर नपर्ने गरी निर्माण गरिएको उक्त ३२ किलोमिटर लामो सडक हेर्नका लागि बझाङको जयपृथ्वी नगरपालिका, छविस पाथीभेरा, तल्कोट र थलारा गाउँपालिकाका जनप्रतिनिधि, इन्जिनियर तथा प्राविधिक कर्मचारीहरू बैतडी पुगेका थिए । जथाभावि डोजर लगाएर सडक निर्माण गर्दा ठूलो वातावरणीय, आर्थिक र मानवीय क्षति भएको भन्दै सडक निर्माणलाई व्यवस्थित गर्न वातावरणमैत्री ग्रामीण सडक निर्माण निर्देशिका तयार गरी लागू गरेका यी स्थानीय तहहरू वातावरणमैत्री सडक निर्माणको विधि र यसको फाइदाको बारेमा बुझ्न र अवलोकन गर्न बैतडी पुगेका हुन् ।

‘हामीले गरेको विकासले जनतालाई सुविधाभन्दा बढी सास्ती दिएको गुनासोहरू आउन थालेपछि पर्यावरणमैत्री सडक निर्माणसम्बन्धी निर्देशिका नै बनाएर लागू गरेका छौँ’, जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्रबहादुर खड्काले भने ‘यस्तो सडक कसरी बनाइँदो रहेछ ? हामीले बनाउने तरिका र यहाँ के फरक रहेछ ? भनेर हेर्नका लागि प्राविधिक कर्मचारीसहित यहाँ आएका हौँ ।’ उनले आफ्नो नगरपालिकाले अब सडक बनाउँदा वातावरणीय पक्ष मात्र नभएर सडक प्रभावित जनताको सामाजिक र आर्थिक पक्षलाई पनि ख्याल गरेर मात्र काम अघि बढाउने बताए ।

स्थानीय समुदाय र वातावरणमा कमभन्दा कम क्षति गरेर सडक निर्माण गर्नको लागि कुन–कुन कुरामा ख्याल गर्नुपर्ने रहेछ भन्ने बारेमा देहीमाण्डौ विरेगडा सडक हेरेर आफूले धेरै कुरा सिकेको छविस पाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावलले बताए । उनले अहिले बझाङमा निर्माण भैरहेका सडकहरू इन्जिनियरिङ मापदण्ड पालना नगरेका कारण ठूलो क्षति व्यहोर्नुपरेको सुनाए । ‘यो सडकमा इन्जिनियरले तयार गरेको रेखाङ्कनलाई पूर्ण पालना गरेको छ । अर्काे कुरा यो पूर्णरूपमा मानवश्रम प्रयोग गरेर बनाइएको रहेछ’, उनले भने, ‘डिजाइन स्टिमेटको पूर्णपालना गरियो र अत्यावश्यक ठाउँमा मात्र भारी उपकरण चलाइयो भने सडक निर्माणबाट हुने क्षतिलाई धेरै कम गर्न सकिँदो रहेछ भन्ने यहाँ आएर देखियो ।’

बझाङका चारवटा स्थानीय निकायलार्ई पानी परियोजनाको सहयोगमा वातावरणमैत्री ग्रामीण सडक निर्माणसम्बन्धी निर्देशिका बनाउन सघाएको दिगो पूर्वाधार निर्माणसम्बन्धी विज्ञ संस्था स्कट वेल्सन नेपालका इन्जिनियर सन्तोष पन्थीले जनप्रतिनिधि र प्राविधिकहरूले यो सडकबाट सिक्नुपर्ने कुराहरू धेरै रहेको बताए । उनले भने, ‘इन्जिनियरिङ पाटो मात्रै हैन । यो सडक निर्माणपूर्व स्थानीयसँग गरिएको छलफल र सडक निर्माण प्रक्रियामा भएको जनसहभागिताका कारण सडक दिगो र पर्यावरणमैत्री भएको हो । यसबाट सबैले सिक्न र प्रयोग गर्न सकिने थुप्रै कुराहरू छन ।’ उनले अहिले पहिले रकम छुट्याउने र त्यसपछि अन्धाधुन्द डोजर लगाउने गरेका कारण समस्या भएको बताए ।

२०६६ सालमा तत्कालीन जीटीजेड (जर्मन सहयोग नियोग)को आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला विकास समिति बैतडीले बनाएको यो सडक एक वर्षभित्रै निर्माण सम्पन्न भएको थियो । ३२ किलोमिटर लामो यो सडक निर्माण गर्नको लागि छ लाख ६६ हजार किलो चामल, ८३ हजार किलो दाल र करिब चार करोड २३ लाख रकमबराबरको नगद र निर्माण सामग्री खर्च भएको थियो ।

निर्माणको अवधिमा २० हजारभन्दा बढी स्थानीयलाई रोजगारी दिएको यो सडक निर्माण कार्यले बैतडी जिल्लाकै पिछडिएको क्षेत्रको रूपमा रहेको यसक्षेत्रका धेरैको जीवनमा ठूलो आर्थिक परिर्वतन ल्याएको स्थानीयहरू बताउँछन् । ‘गाउँ नै खाली गरेर भारत जाने यहाँका मानिसहरूका दिन यही सडकले फेरेको हो’ स्थानीय रमेश बोहराले भने, ‘सडकमा काम गर्नेहरूले प्रशस्त दाल, चामल पाए । सीप हुनेहरूले राम्रै नगद कमाए । त्यही पैसाले कसैले घर घडेरी किने । कसैले पसल व्यवसाय गरे ।’ उनले सडक निर्माणमा खर्च भएको सबै नगद र जिन्सी यहाँका स्थानीयहरूमा बाँडिएका कारण धेरैको जीवनमा परिर्वतन आएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x