Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवाग्नर समूहद्वारा रुसको महत्त्वपूर्ण सहरमाथि नियन्त्रण, पुटिन-वाग्नर प्रमुख तनाव

वाग्नर समूहद्वारा रुसको महत्त्वपूर्ण सहरमाथि नियन्त्रण, पुटिन-वाग्नर प्रमुख तनाव


काठमाडौं,रुसी सैन्य नेतृत्वलाई पदबाट हटाउने चेतावनी दिएको वाग्नर समूहले रुसको महत्त्वपूर्ण सहर रोस्तोभ-अन-डनका प्रमुख क्षेत्रहरू कब्जा गरेको छ।

युक्रेन युद्धमा रुसले सैन्य र बन्दोबस्तका लागि मुकाम बनाएको यो सहर युक्रेनबाट १०० किलोमिटरको दुरीमा छ। त्यहाँका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। बीबीसी न्यूज रसियनका अनुसार वाग्नरले रोस्तोभ र मस्कोको बीचमा पर्ने भरोनेस सहरका सैन्य संरचनाहरू पनि कब्जामा लिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई कारबाही गर्ने वाचा गरेका छन्।

प्रिगोजिनले भने रुसका रक्षा मन्त्रीसँग भेट नहुँदासम्म आफ्नो फौज निरन्तर मस्कोतर्फ अघि बढ्ने बताएका छन्। यूकेले वाग्नर सेनाहरू मस्कोतर्फ गइरहेको बताएको छ।

यसअघि वाग्नर प्रमुखले त्यहाँको सैन्य नेतृत्व हटाउन “जुनसुकै हदमा जाने” चेतावनी दिएका थिए। त्यसअघि क्रेमलिनले उनलाई “सशस्त्र विद्रोह”को आरोप लगाएको थियो।

रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुखले यसअघि त्यहाँको सैन्य नेतृत्व हटाउन “जुनसुकै हदमा जाने” चेतावनी दिएका थिए। त्यसअघि क्रेमलिनले उनलाई “सशस्त्र विद्रोह”को आरोप लगाएको थियो।

रुसी राष्ट्रपति पुटिनले वाग्नर समूहको नाम नतोकी आपराधिक कार्यमा मानिसहरूलाई उक्साउने काम भएको बताएका छन्।

पुटिन-वाग्नर प्रमुख तनाव
पुटिनले एक टेलिभिजनमार्फत् गरेको सम्बोधनमा रुसी समाजलाई विभाजित गर्नेहरूमाथि “अनिवार्य सजाय” हुने चेतावनी पनि दिए।

अहिले राजधानी मस्को र अन्य धेरै क्षेत्रहरूमा आतङ्कवाद नियन्त्रणसम्बन्धी शासन व्यवस्था लागु भएको पुटिनले बताएका छन्।

यसअघि वाग्नर प्रमुख येभ्गेनी प्रिगोजिनले उनका लडाकुहरू युक्रेनको सीमाबाट फर्किएर रुसी सहर रोस्तोभ-अन-डन प्रवेश गरेको बताएका थिए। उनले आफ्ना सेनाले उनीहरूलाई रोक्न खोज्ने जो कोहीलाई ध्वस्त पार्ने चेतावनीसमेत दिए।

स्थानीय गभर्नरले आफ्ना सर्वसाधारणलाई धैर्य गर्न र घरभित्रै बस्न आह्वान गरेका छन्।प्रिगोजिनले उनको सेनाले “नागरिकहरूको गाडीको लस्करमाथि आक्रमण गर्ने” रुसी सैन्य हेलिकप्टरलाई खसालेको दाबी गरेका छन्। उनले घटना भएको स्थानबारे खुलाएका छैनन् र उनको दाबी तत्काल पुष्टि भएको छैन।

वाग्नर रुसको सरकारी सेनासँग मिलेर युक्रेनविरुद्ध लडिरहेको निजी सैनिकहरूको समूह हो।हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना सुरु गरेपछि उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको छ।
शुक्रवार ६२ वर्षीय वाग्नर प्रमुखले रुसको सरकारी सेनाले आफ्ना सेनाहरूमाथि घातक क्षेप्यास्त्र आक्रमण गरेको आरोप लगाए। घटनामा जिम्मेवारलाई सजाय दिलाइने उनले वाचा गरेका छन्। यस्तो आक्रमणबारे तथ्यहरू भने उनले उपलब्ध गराएनन्।

अधिकारीहरूले आक्रमण भएको अस्वीकार गरेका छन् र उनलाई तत्काल आफ्ना “गैर कानुनी कदमहरू” रोक्न माग गरेका छन्।

प्रिगोजिनले रुसी सैन्य नेतृत्वमा रहेका “दुष्ट”हरूलाई रोक्नु पर्ने बताउँदै “न्यायका लागि अभियान” सुरु गर्ने वाचा गरे।”हाम्रा लडाकुहरूलाई मार्नेहरू र (युक्रेनको युद्धमा) हजारौँ रुसी सैनिकको ज्यान लिने सबैलाई सजाय दिइनेछ,” उनले सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेको अडिओ सन्देशमा भनेका छन्।

“म तपाईँलाई प्रतिरोधमा नआउन आग्रह गर्छु। जो आउँछ उसलाई खतराको रूपमा हेरिन्छ र मारिन्छ। हामी हिँड्ने बाटोको जुनसुकै सुरक्षा जाँच चौकी र विमानस्थलमा त्यस्तो हुनसक्छ।

राष्ट्रपतिको शक्ति, सरकार, प्रहरी र रुसी सुरक्षाकर्मीले नियमित काम गर्नेछन्।यो सैन्य विद्रोह होइन, तर न्यायको निम्ति आयोजित र्‍याली हो। हाम्रो अभियानले सेनालाई कुनै पनि तरिकाले हस्तक्षेप गर्दैन।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस स्थितिको बारेमा चौबीसै घण्टा जानकारी लिइरहेको उनका प्रवक्ताले बताए।

शुक्रवार राति मस्कोका सरकारी भवनहरू र यातायात सुविधाहरू सहित प्रमुख स्थानहरूमा सुरक्षा बढाइएको रुसको सरकारी समाचार संस्था टीएएसएसले जानकारी दियो।

रुसको लिपेट्स्क क्षेत्रका गभर्नरले पनि त्यहाँका बासिन्दाहरूलाई दक्षिणतर्फ यात्रा नगर्न आग्रह गरेका छन्।लिपेट्स्क, युक्रेनी सीमाबाट करिब २८० किलोमिटर उत्तर-पूर्वमा र रोस्टोभबाट करिब ५०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ।
इगोर आर्टामोनोभले टेलिग्राममार्फत त्यस क्षेत्रमा सुरक्षा प्रबन्ध कडा बनाइएको र संवेदनशील पूर्वाधारहरूको सुरक्षामा ध्यान केन्द्रित गरेको जानकारी दिए।

शुक्रवार अबेर ट्विट गर्दै युक्रेनी रक्षा मन्त्रालयले भन्यो: “हामीले हेरिरहेका छौँ।”ह्वाइट हाउसले स्थितिको निगरानी गरिरहेको र अमेरिकी सहयोगीहरूसँग परामर्श गर्ने जनाएको छ।

विगतमा प्रिगोजिनले प्रशंसा गरेका, युक्रेनस्थित रुसी सेनाका उपप्रमुख जनरल सर्गेई सुरोभिकिनले वाग्नरलाई उसको “अभियान रोक्न र लडाकुहरूलाई आफ्नो शिविरहरूमा फर्काउन” आग्रह गरेका छन्।

“हामी एउटै रगतका हौँ, हामी योद्धा हौँ,” उनले भिडिओ सन्देशमार्फत् भने। “हाम्रो देश अप्ठ्यारोमा परेको बेला तपाईँले दुस्मनलाई स्थिति सहज बनाइदिनु हुँदैन।”

अर्का वरिष्ठ कमान्डर, लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेभले वाग्नर प्रमुखको कदम “देश र राष्ट्रपतिविरुद्ध पछाडिबाट छुरा प्रहार गर्नु” सरह भएको बताए।

रुसको सुरक्षा सेवा सम्बन्धी निकाय एफएसबीले प्रिगोजिनविरुद्ध “सशस्त्र विद्रोहको आह्वान गर्दै” रुसमा गृहयुद्ध सुरु गर्ने प्रयास गरेको आरोपमा फौजदारी मुद्दा लगाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

एफएसबीले वाग्नरका लडाकुहरूलाई उनको निर्देशन अवज्ञा गर्न र उनको गिरफ्तारीका निम्ति कदम चाल्न आह्वान गरेको छ।

रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् वाग्नर शिविरमा रुसी हमलाबारे “सामाजिक सञ्जालमा प्रिगोजिनले फैलाएको सबै विवरण” “सत्य नभएको र ती सूचना उत्तेजक” भएको बताएको छ।

मे महिनामा एक भिडिओ सन्देश सार्वजनिक भएको थियो जसमा प्रिगोजिन वरपर आफ्ना सेनाहरूको शव राखेर उभिएका थिए। र, रुसी रक्षामन्त्री सर्गेई शोइगु तथा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभमाथि उनीहरूलाई पर्याप्त गोला बारुद उपलब्ध नगराएको आरोप लगाएका थिए।

उनले शुक्रवार पुन: रुसको रक्षा मन्त्रालयले राष्ट्रपति र रुसी जनतालाई धोका दिइको आरोप लगाएपछि रक्षा मन्त्रालयले उक्त विज्ञप्ति जारी गरेको हो।(बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया