Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकानरैनापुर गाउँपालिकाबाटै श्रम स्वीकृति

नरैनापुर गाउँपालिकाबाटै श्रम स्वीकृति


नरैनापुर । बाँकेमा स्थानीय तहबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।

नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि स्वीकृति दिन सुरु गरेको हो । गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्रअनुसार नै सो सेवा सुरु गरिएको हो । यसअघि श्रम स्वीकृतिका लागि काठमाडौँ जानुपर्ने अवस्था थियो । ‘यसअघि अन्यत्रै गएर यससम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ’, उनले भने । नरैनापुरबाट पहिलो दिनमा तीन जनाले सेवा लिएका छन् ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मुकेरीले बताए । उनका अनुसार कल्याणकारी कोषका लागि एक हजार पाँच सय रुपैयाँ र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया